पश्चिमी र स्थानीय वायुको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, जेठ १ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाद्वारा जारी बुलेटिन अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। तराईका भू-भागमा भने आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आज रातिको पूर्वानुमान
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी तथा तराईका भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ।