अमृत झा रिहा भएको परराष्ट्रमन्त्रीको कच्चा सन्देश, मन्त्रालयले माफी माग्दै निकाल्यो विज्ञप्ति

काठमाडौँ, ४ जेठ । नेपाली युवा अमृत झा रिहा भएको भन्दै परराष्ट्र मन्त्रालयले केही समय अघि जानकारी गराएको थियो । इरानमा पक्राउ पर्नुभएका झा रिहा भएको भन्दै परराष्ट्रले नै जानकारी दिएपछि धेरैले नयाँ सरकारको प्रशंसा गरेका थिए । तर, आज एक जानकारी दिदैँ मन्त्रालयले आफ्नो कमजोरी लुकाउन माफी मागेको छ । आज निकालेको विज्ञप्तिमा मन्त्रालयले यसअघि झा रिहा भएको भन्दै दिइएको जानकारीबाट अन्योल र असुविधा भएको भन्दै माफी मागेको हो ।

परराष्ट्रको विज्ञप्तिमा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उहाँको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका, इजरायल र इरानबीच गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुभन्दा अगावै जनवरीको सुरुमा झासहित अन्य ६ जना विदेशी नागरिकहरूलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र उनको रिहाइ पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाएका थिए।

‘त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त जानकारीकै आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गर्नुभएको । साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको ।’

मन्त्रालयले इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले निष्पक्ष सुनुवाइ लगायत रिहाइका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको पनि जानकारी दिएको छ ।

गज्जब त के भने यसअघि गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र उनको रिहाइ पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाउनु भएको र सोही सूचनाका आधारमा तत्कालीन जनचासो, सञ्चार माध्यमको सोधपुछ र परिवारको चासोलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो । परराष्ट्र मन्त्री शिशिर खनालले समेत सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गर्दै आफूलाई कच्चा मन्त्री देखाउनु भएको थियो ।