सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै : विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौँ,  जेठ ५ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजेका लागि आह्वान गरिएको छ ।

आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफललाई निरन्तरता दिने सम्भावित कार्यसूची रहेको छ । गत वैशाख ३१ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमाथि गत सोमबारदेखि सांसदहरूले दलीय आधारमा आफ्नो धारणा राखिरहेका छन् ।

संसद् सचिवालयका अनुसार, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आगामी बुधबारको बैठकमा अर्थमन्त्री डा. वाग्लेले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसैगरी, माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि आजै अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको छ । दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथि केन्द्रित रहेर संसदीय कारबाही अघि बढ्ने जनाइएको छ ।