८ विश्वविद्यालयमा उपकुलपति चयन प्रक्रिया: २१८ उम्मेदवारको आवेदनमाथि छानबिन सुरु

काठमाडौँ, ७ जेठ । मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा गठित समितिले कुल २१८ जना उम्मेदवारको कागजात र योग्यताको छानबिन थालेको हो।

गत वैशाख २५ गते मन्त्रालयले १० दिनको म्याद दिएर आवेदन आह्वान गरेको थियो। प्राप्त दरखास्तमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ५० जनाले इच्छा देखाएका छन्।

कुन विश्वविद्यालयमा कति आवेदन?
त्रिभुवन विश्वविद्यालय: ५० जना
पूर्वाञ्चल विश्वविद्यालय: ३८ जना
पोखरा विश्वविद्यालय: ३८ जना
राजर्षि जनक विश्वविद्यालय: २७ जना
मध्यपश्चिम विश्वविद्यालय: २० जना
सुदूरपश्चिम विश्वविद्यालय: १९ जना
कृषि तथा वन विज्ञान विश्वविद्यालय: १५ जना
लुम्बिनी बौद्ध विश्वविद्यालय: ११ जना

मन्त्रालयका अनुसार आवेदकहरूको कागजात अध्ययन गरी छिट्टै स्वीकृत उम्मेदवारको नामावली (सर्टलिस्ट) प्रकाशन गरिनेछ। त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको प्रक्रिया आरम्भ हुनेछ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको ‘सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश’ मार्फत साबिकका पदाधिकारीहरू पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको हो। यसका लागि गत वैशाख २४ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत गरिएको थियो।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा शिक्षा सचिव चुडामणि पौडेल र सम्बन्धित विश्वविद्यालयका विज्ञहरू सदस्य रहेका छन्। समितिले योग्यता, अनुभव र कार्यक्षमताका आधारमा उत्कृष्ट उम्मेदवार सिफारिस गर्ने जनाएको छ।