देशभर ३२ हजार ३२५ सहकारी दर्ता, १ खर्ब ४३ अर्ब शेयर पुँजी र १० खर्ब बढीको बचत परिचालन
काठमाडौँ, १५ जेठ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीहरूको संख्या ३२ हजार ३२५ पुगेको छ। यस क्षेत्रमा हालसम्म कुल रु. १ खर्ब ४३ अर्ब २९ करोड शेयर पुँजी परिचालन भएको प्रतिवेदनले देखाएको छ।
सर्वेक्षण अनुसार सहकारी क्षेत्रले हालसम्म रु. १० खर्ब २९ अर्ब ५७ करोड बराबरको बचत परिचालन गरेको छ। यस क्षेत्रले कुल ८२ हजार २१६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।
सहकारीसम्बन्धी एकीकृत तथ्यांक संकलनका लागि विकास गरिएको ‘सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली’ (कोपोमिस) मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन्। २०८१ असार मसान्तसम्म कोपोमिसमा आबद्ध सहकारीको संख्या १८ हजार ८९७ रहेको थियो।
यसैगरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रको नियमन गर्दै हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ।
सङ्घीय सरकारद्वारा समस्याग्रस्त घोषित २३ सहकारी संस्थाहरूमध्ये हालसम्म ३ वटा संस्थाको राफसाफ (फर्छ्यौट) भएको छ। बाँकी २० वटा सहकारी संस्थाको भने सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी रहेको छ।
हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ जना दाबीकर्ताको रु. ४७ अर्ब ६० करोड १३ लाख बराबरको माग दाबी दर्ता भएको छ। यसमध्ये हालसम्म ३ हजार ६८८ दाबीकर्तालाई पूर्ण रूपमा कुल रु. २ अर्ब ५४ करोड ६८ लाख भुक्तानी गरिएको छ। साथै, चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७६३ दाबीकर्तालाई रु. १२ करोड २३ लाख रकम फिर्ता गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।