बाजुराको बडीमालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा, १८ जेठ । बाजुराको बडीमालिका नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक वृद्ध र एक बालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडीमालिका नगरपालिका–१ पाटा निवासी ६० वर्षीय मानबहादुर दानीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । स्थानीय वनमा घाँस काटिरहेका बेला उनी अचानक भिरबाट खसेका थिए ।

यसैगरी, सोही नगरपालिका–६ कोर्धमा ६ वर्षीया बालिका जसना खड्काको पनि भिरबाट लडेर ज्यान गएको छ । उनी स्थानीय बलबहादुर खड्काकी छोरी हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार बालिका आफ्नी आमासँगै गाउँ नजिकैको वनमा गएकी थिइन् । आमाले घाँस काटिरहेको समयमा बालिका भिरबाट चिप्लिएर तल खसेकी थिइन् ।

प्रहरीले दुवै घटनाको जानकारी पाएलगत्तै आवश्यक कानुनी प्रक्रिया र मुचुल्का सम्पन्न गरेको जनाएको छ ।