हुम्ला–बाजुरा सीमा विवाद र झडपको छानबिन सुरु: गृहको टोली सिमकोट पुग्यो
हुम्ला, १८ जेठ । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको जग्गा विवाद र त्यसपछि उत्पन्न दोहोरो झडपका बारेमा सत्यतथ्य बुझ्न गृह मन्त्रालयद्वारा गठित छानबिन टोली हुम्ला आइपुगेको छ ।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेलको नेतृत्वमा रहेको टोली आइतबार सिमकोट आइपुगेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शङ्कर खड्काका अनुसार टोलीले घटनास्थल लाम्पाटा र च्याचौर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सदरमुकाम सिमकोट आइपुगेको हो ।
सिमकोट बसाइका क्रममा छानबिन टोलीले सीमा क्षेत्रका बासिन्दा, झडपमा संलग्न व्यक्तिहरू, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरूसँग घटनाका बारेमा छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम छ । टोलीले घटनाको यथार्थ विवरण सङ्कलन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँको बजेटबाट लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण सुरु गरेपछि दुई जिल्लाबीच विवाद सुरु भएको थियो । हुम्लाका स्थानीयले सो क्षेत्र आफ्नो जिल्लामा पर्ने दाबी गर्दै निर्माण कार्यको विरोध गरेपछि स्थितिले उग्र रूप लिएको थियो ।
गत जेठ २ गतेदेखि ४ गतेसम्म भएको झडपमा बाजुराका चार जना स्थानीय घाइते भएका थिए । उनीहरूको अवस्था गम्भीर भएपछि हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको थियो ।
सीमा विवाद र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले यही जेठ ११ गते दुईवटा छुट्टाछुट्टै टोली गठन गरेको थियो । नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा प्राविधिक (अध्ययन) टोली र एसएसपी पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको हो । यी टोलीहरूको प्रतिवेदनका आधारमा सरकारले सीमा विवाद समाधानको ठोस पहल गर्ने अपेक्षा गरिएको छ ।