घुँडा खिइने समस्यामा शल्यक्रिया कत्तिको सुरक्षित? नयाँ अध्ययनले देखायो यस्तो जोखिम

काठमाडौँ । घुँडाको दुखाइ वा ‘अस्टियोआर्थराइटिस’ (हड्डी खिइने समस्या) बाट पीडित धेरै व्यक्तिहरू अन्तिम विकल्पको रूपमा शल्यक्रिया रोज्ने गर्छन्। तर, हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनले घुँडाको ‘मेनिसकस’ (Meniscus) भनिने कुरकुरे हाड निकाल्ने शल्यक्रियाले फाइदा भन्दा बढी नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिएको छ।

न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित फिनल्याण्डका अनुसन्धानकर्ताहरूको अध्ययनअनुसार, शल्यक्रिया गरेर मेनिस्कस हटाएका बिरामीहरूमा १० वर्षपछिको नतिजा सन्तोषजनक देखिएन। बरु, शल्यक्रिया नगरेका वा सामान्य उपचार मात्र गराएका बिरामीहरूको घुँडाको अवस्था राम्रो पाइएको छ।

के हो मेनिसकस र यसको समस्या?

हाम्रो घुँडाको माथिल्लो र तल्लो हड्डीको बीचमा ‘C’ आकारको एउटा रबर जस्तो कुरकुरे हाड हुन्छ, जसलाई मेनिसकस भनिन्छ। यसले हिँड्दा वा उफ्रँदा घुँडामा लाग्ने झट्कालाई सोस्ने काम गर्छ। उमेर बढ्दै जाँदा यो हाड च्यातिने सम्भावना रहन्छ, जसलाई धेरैले घुँडा दुखाइको मुख्य कारण मान्ने गर्छन्।

तर, विशेषज्ञहरूका अनुसार उमेर पुगेका व्यक्तिहरूमा मेनिसकस च्यातिए पनि दुखाइको कारण त्यो मात्र नहुन सक्छ। धेरै अवस्थामा शरीरमा हुने विभिन्न रासायनिक परिवर्तनहरू (Cytokines, Enzymes) दुखाइका मुख्य कारक हुन्छन्।

शल्यक्रिया नगर्दाका फाइदाहरू

अध्ययनमा दुई समूहका बिरामीहरूलाई समावेश गरिएको थियो। एउटा समूहको वास्तविक शल्यक्रिया गरियो भने अर्को समूहलाई ‘डमी’ (औपचारिकताका लागि मात्र गरिएको) शल्यक्रिया गरियो। १० वर्षपछिको परीक्षणमा डमी शल्यक्रिया गरेका बिरामीहरूमा:

  • घुँडाको दुखाइ कम पाइयो।

  • घुँडा चलाउन सजिलो भएको देखियो।

  • भविष्यमा हड्डी थप खिइने जोखिम कम देखियो।

शल्यक्रियाको विकल्पमा के गर्ने? (स्वास्थ्य टिप्स)

यदि तपाईंलाई पनि घुँडाको समस्या छ भने तुरुन्तै शल्यक्रियाको निर्णय लिनुअघि यी उपायहरू अपनाउन सकिने चिकित्सकहरूको सुझाव छ:

१. समय दिनुहोस्: घुँडाको सामान्य दुखाइ समयक्रमसँगै आफैँ निको हुन सक्छ। हतारमा शल्यक्रिया नगर्नुहोस्।
२. फिजियोथेरापी: मांसपेशीलाई बलियो बनाउन फिजियोथेरापी निको हुने उत्तम माध्यम हुन सक्छ।
३. साइकलिङ: घुँडालाई चलायमान बनाउन र लचकता कायम राख्न साइकल चलाउनु निकै प्रभावकारी हुन्छ।
४. बरफले सेक्ने र आराम: दुखाइ बढेको बेला बरफले सेक्ने र केही समय घुँडालाई आराम दिँदा राहत मिल्छ।
५. औषधि र इन्जेक्सन: चिकित्सकको सल्लाहमा एन्टि-इन्फ्लेमेटरी औषधि वा घुँडामा लगाइने विशेष इन्जेक्सन (PRP, Hyaluronic acid) प्रयोग गर्न सकिन्छ।

शल्यक्रिया कहिले गर्ने?

विज्ञहरूका अनुसार, यदि मेनिसकस पुरै उप्किएर घुँडा नै ‘लक’ भएको छ वा माथिका कुनै पनि उपायले काम गरेन भने मात्र शल्यक्रियाको बारेमा सोच्नुपर्छ। कतिपय अवस्थामा आंशिक शल्यक्रिया भन्दा ‘नी रिप्लेसमेन्ट’ (घुँडा प्रत्यारोपण) नै उत्तम विकल्प हुन सक्छ।

 घुँडाको दुखाइ हुनासाथ मेनिसकसको शल्यक्रिया गरिहाल्नु पर्दैन। प्राकृतिक उपचार, व्यायाम र सही खानपानले नै धेरैजसो समस्या समाधान गर्न सकिन्छ।(स्रोत: मेडिकल न्यूज टुडे र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिन)