बाँकेमा विद्यार्थी न्यून भएका तीन विद्यालय समायोजन : भवनको सदुपयोगमा चुनौती
काठमाडौँ, जेठ १८ । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीनवटा प्राथमिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गरेको छ। गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार र स्रोत साधनको उचित व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०७५ देखि कार्यान्वयनमा ल्याएको विद्यालय समायोजन नीति अन्तर्गत यो कदम चालिएको हो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार खजुरा गाउँपालिका-३ स्थित शान्ति प्राथमिक विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। उक्त विद्यालयको स्थानमा हाल गाउँपालिकाको प्रशासनिक कार्यालय निर्माण गरिएको छ ।
त्यसैगरी, वडा नं. २ मा रहेका भानुदय प्राथमिक विद्यालय र नयाँ गुराँसपुरस्थित शिव प्राथमिक विद्यालयलाई शुक्र माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। समायोजन पश्चात् ती विद्यालयका भवनहरू भने हाल प्रयोगविहीन अवस्थामा छन् । शिव प्राविको दुईतले भवनको एउटा कोठामा बाल विकास केन्द्र सञ्चालन गरिए पनि बाँकी संरचनाहरू प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् ।
विद्यालय समायोजन भएपछि खाली रहेका भौतिक संरचनाहरूको संरक्षण र सदुपयोग हुन नसकेकोमा स्थानीयले चासो व्यक्त गरेका छन् । स्थानीय अगुवा भीम ओलीले विद्यालय समायोजन सकारात्मक भए पनि खाली भएका भवन र संरचनाहरूलाई खेर जान नदिन स्थानीय तहले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संरक्षणको अभावमा गाउँपालिकाका ती महत्वपूर्ण संरचनाहरू जीर्ण बन्दै गएकाले तिनलाई समुदायको हितमा हुने गरी अन्य प्रयोजनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।