महोत्तरीको बर्दिबासमा बाढीले बगाउँदा एक वृद्धको मृत्यु

काठमाडौँ, साउन २१ । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ आएको बाढीमा परी बर्दिबास नगरपालिका ५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुप्रसाद तिमिल्सिनाका अनुसार, खोला किनारमा रहेको आफ्नो खेतमा सिँचाइका लागि राखिएको विद्युतीय मोटर बाढीले बगाउन थालेपछि सो जोगाउन जाने क्रममा बस्नेतलाई बाढीले एक्कासि बगाएको थियो । मोटर निकाल्न खोज्दा बाढीको तीव्र बहावले बगाएर उनी बेपत्ता भएका थिए ।

घटनालगत्तै सुरु गरिएको खोजी कार्यका क्रममा बस्नेतको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलाको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टम र अन्य कानुनी प्रक्रियाका लागि सुरक्षित राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले दिनुभएको छ ।