कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट, घाइते दुई सैनिकलाई उपचारका लागि काठमाडौँ ल्याइयो
कैलाली, २१ साउन । कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका दुई जना सैनिक घाइते भएका छन्।
गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु घाइते हुनुभएको हो। घाइते दुवै सैनिकको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि तत्काल धनगढीको बोराडाँडीस्थित सैनिक अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप र विस्तृत उपचारका लागि सैनिक टोलीले उहाँहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।