ग्वार्कोकाे फ्लाईओभरमा यात्रुवाहक बस ठोक्किँदा एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौँ, २१ साउन । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस बिहान साढे १०:०० बजेतिर निर्माणाधीन फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्दाजी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ६ जनालाई तत्काल उद्धार गरी उपचारका लागि ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पठाइएको छ। प्रहरीले दुर्घटना गराउने बसका चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको एसपी मिश्रले जानकारी दिनुभयो।