रौतहटमा मृग जोगाउने क्रममा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
जनकपुरधाम, २१ साउन । बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा पल्टिएर आगलागी भएको छ।
रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार आज बिहान सडकमा अचानक निस्किएको मृगलाई जोगाउन खोज्दा ट्याङ्कर अनियन्त्रित भई पल्टिएको थियो र लगत्तै त्यसमा आगलागी सुरु भएको थियो।
घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको टोलीले स्थानीयको सहयोगमा आगो निभाउन प्रयास गरेको थियो। पछि रौतहटको चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएका बारुणयन्त्र (दमकल) को सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी गौतमले जानकारी दिनुभयो।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले ट्याङ्करका चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।