भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २१ जेठ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा मुस्ताङको कोरोला नाकाबाट प्रवेश गरेका ७७४ वटा विद्युतीय सवारीसाधनहरू (इभी) नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार गएराति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाका विभिन्न क्षेत्रबाट ती सवारीसाधनहरू नियन्त्रणमा लिइएको हो। भन्सार प्रक्रिया पूरा नगरी ठूलो संख्यामा गाडीहरू नेपाली बजारमा लैजान लागिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले विभिन्न जिल्लामा एकैसाथ टोली परिचालन गरेको थियो।

गाडीहरू नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपालको नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत र नम्बर २४ कालिका गण कास्कीबाट विशेष सुरक्षा टोली परिचालन गरिएको थियो।

यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट पनि भन्सार छलीकै आशंकामा थप दुई वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सबै सवारीसाधनहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय तथा राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।