रसुवामा सेनाको ब्यारेकमा विष्फोटक पदार्थ विष्फोट: ५ जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइयो
रसुवा, २५ साउन । रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा विष्फोटक पदार्थ विष्फोट हुँदा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् । म्याद सकिएका विष्फोटक पदार्थहरू डिस्पोज गर्न लैजाने क्रममा अचानक विष्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार पुराना र म्याद नाघेका विष्फोटक पदार्थहरूलाई सुरक्षित रूपमा नष्ट गर्ने प्रक्रिया चलिरहेका बेला यो दुर्घटना भएको हो । विष्फोटपछि गण परिसरमा केही बेर भागदौड मच्चिएको थियो ।
घाइतेहरूको अवस्थालाई मध्यनजर गर्दै तत्काल थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर घटनास्थलतर्फ पठाइएको डीएसपी थापाले जानकारी दिनुभयो । “हामीलाई ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ, प्रहरी टोली पनि घटनास्थलतर्फ जाँदैछ,” उहाँले भन्नुभयो ।
श्रीनाथ गणका गणपतिले अहिले घाइतेहरूको प्राथमिक उपचार र उद्धार कार्यमा व्यस्त रहेकाले घटनाको विस्तृत विवरण पछि सार्वजनिक गर्ने बताउनुभएको छ । घाइतेहरूको पहिचान र उनीहरूको चोटको प्रकृतिबारे आधिकारिक जानकारी आउन बाँकी छ ।
सेनाले विकास निर्माणका क्रममा सडक खन्न प्रयोग गरिने वा पुराना भएका विष्फोटक पदार्थहरूलाई समय-समयमा सुरक्षित स्थानमा लगेर नष्ट गर्ने गर्दछ । सोही क्रममा आज यो दुखद घटना भएको हो ।