काठमाडौँकाे गुह्येश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर ढल प्रशोधन

काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकाका नदीहरूलाई प्रदूषणमुक्त बनाउने र वातावरण स्वच्छ राख्ने अभियानअन्तर्गत गुह्येश्वरी फाँटस्थित ढल प्रशोधन केन्द्रले उल्लेख्य सफलता हासिल गरिरहेको छ। हाल यस केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरी बागमती नदीमा पठाउँदै आएको छ।

केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार उपत्यकाको ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अन्य विभिन्न स्थानमा पनि प्रशोधन केन्द्र निर्माणको काम तीव्र पारिएको छ। हाल सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा नयाँ प्रशोधन केन्द्रहरू निर्माणाधीन अवस्थामा रहेका छन्। नदीहरूको स्वच्छता कायम राख्न यस्ता केन्द्रहरूको सङ्ख्या अझै बढाउनुपर्ने आवश्यकता उनले औँल्याए।

प्रशोधन प्रक्रियामा केही प्राविधिक र व्यावहारिक चुनौतीहरू देखिएका छन्। प्रमुख श्रेष्ठका अनुसार ढलको फोहर पानी र वर्षाको पानी एउटै पाइप प्रणालीबाट आउने भएकाले प्रशोधन केन्द्रको पूर्ण क्षमता उपयोग गर्न कठिनाइ भइरहेको छ।

“प्रशोधन केन्द्रलाई प्रभावकारी बनाउन फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक छ,” उनले भने, “यसका लागि हामीले स्थानीय तहहरूसँग समन्वय गरिरहेका छौँ।”

ढलसँगै मिसिएर आउने बालुवा, इँटाका टुक्रा र कतिपय अवस्थामा मरेका जनावरका कारण प्रशोधन प्रक्रियामा अवरोध पुग्ने गरेको छ। मानिसहरूले ढलमा जथाभाबी ठोस फोहर फाल्ने गरेकाले मेसिनरी उपकरणहरू बिग्रने र प्रशोधन कार्य जटिल हुने गरेको केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *