प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची
काठमाडौँ, २५ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु हुनेछ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ आजै अर्थमन्त्रीले दिने कार्यक्रम छ ।
आजको बैठकमा अर्थमन्त्री वाग्लेले बजेटसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विधेयकहरू समेत प्रस्तुत गर्नेछन् । जसमा:
‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने ।
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ पेश गर्ने ।
‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पेश गर्ने ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित ‘श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७’ र ‘बाध्यकारी श्रम महासन्धी सम्बन्धी २०१४ को प्रोटोकल’ सदनमा पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
आजै प्रतिनिधि सभाको बैठकसँगै राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक पनि बस्दैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आजै बस्न लागेको हो ।