जलवायु अनुकूलनका लागि नेपाल ‘जीवित प्रयोगशाला’ : बेलायती राजदूत रोब फेन

काठमाडौँ, २५ जेठ । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाललाई जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’का रूपमा चित्रण गरेका छन् । हिमाली क्षेत्रदेखि साना किसानसम्म स्थानीय ज्ञान र प्रविधिको संयोजनले जलवायु परिवर्तनको असर न्यूनीकरणमा रूपान्तरणकारी परिवर्तन ल्याउन सकिने उनले बताए ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा सोमबार काठमाडौँमा आयोजित ‘जलवायु नवप्रवर्तन प्रवद्र्धन’ कार्यक्रममा राजदूत फेनले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नेपालका स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्ने गरी दिगो जलवायु अनुकूलन समाधानहरू विस्तार गर्नुपर्नेमा जोड दिए । उनले डब्लुएफपीसँगको सहकार्यले कृषि प्रणाली र जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, डब्लुएफपीका नेपालस्थित देशीय निर्देशक रियाज लोधीले जलवायुजन्य विपद्का चुनौतीहरूसँग जुध्न परम्परागत शैलीभन्दा माथि उठेर नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए ।

डब्लुएफपी नेपालका कार्यक्रम उपप्रमुख कृष्ण योगीले आगामी दिनमा प्राथमिकता दिइने क्षेत्रहरूबारे जानकारी दिए । उनका अनुसार कार्यक्रमले निम्न विषयलाई प्राथमिकतामा राखेको छ:
सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली र स्वच्छ ऊर्जा प्रविधि ।
किसानका लागि डिजिटल परामर्श सेवा र उपग्रह (स्याटेलाइट) मा आधारित बीमा ।
जलवायु सूचना प्रणाली र साना किसानका लागि बजार मूल्य शृङ्खला ।

एएफसिआइए कार्यक्रमले प्राकृतिक स्रोत व्यवस्थापन, कृषि उत्पादन, वितरण र उपभोगसम्मको सम्पूर्ण खाद्य प्रणालीलाई समेट्ने लक्ष्य राखेको छ । जर्मनीस्थित डब्लुएफपी इनोभेसन एक्सेलेरेटरकी नवप्रवर्तन परामर्शदाता एसिया सुल्तानका अनुसार यसले प्रभावकारी र विस्तारयोग्य जलवायु अनुकूलनका उपायहरू विकास गर्न मद्दत गर्नेछ ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले जलवायुमैत्री समाधानलाई राष्ट्रिय स्तरमा विस्तार गर्न लगानी आकर्षित गर्ने र परीक्षणका रूपमा रहेका आयोजनाहरूलाई व्यापक बनाउने विषयमा छलफल गरेका थिए । विश्व खाद्य कार्यक्रमले नेपालमा विपद्, द्वन्द्व र जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई खाद्य सहायतासँगै दिगो विकासमा सहयोग गर्दै आएको छ ।