मध्य पूर्व द्वन्द्वको असरले अमेरिकामा हवाई इन्धनको मूल्य ७८ प्रतिशतले बढ्यो

एजेन्सी, २६ जेठ । मध्य पूर्वमा जारी तनाव र द्वन्द्वका कारण अमेरिकी हवाई क्षेत्रमा इन्धनको लागत ह्वात्तै बढेको छ। द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध भएपछि हवाई इन्धनको मूल्यमा उच्च वृद्धि हुँदा एयरलाइन्स कम्पनीहरूको नाफामा निकै ठूलो धक्का लागेको छ।

अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन स्ट्याटिस्टिक्सका अनुसार अप्रिल महिनामा मात्र अमेरिकी एयरलाइन्सहरूले इन्धनका लागि करिब ६ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गरेका छन्। इन्धनको यो लागत गत वर्षको तुलनामा ७८ प्रतिशतले बढी हो भने जुन महिनामा मात्रै २६ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको छ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यस वर्ष विश्वभरका एयरलाइन्सहरूको शुद्ध नाफा खुम्चिने देखिएको छ। आईएटीएले यस वर्ष एयरलाइन्सहरूले २३ अर्ब डलर मात्र नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ, जुन अघिल्लो प्रक्षेपणको तुलनामा १८ अर्ब डलरले कम हो।

त्यसैगरी, प्रति यात्री शुद्ध नाफामा पनि उल्लेख्य गिरावट आउने देखिएको छ। सन् २०२५ मा प्रति यात्री नाफा ९.१० डलर रहने अनुमान गरिएकोमा अहिले घटेर ४.५० डलरमा झर्ने प्रक्षेपण गरिएको छ।

आईआटीएका महानिर्देशक विली वाल्सले इरानसँगको द्वन्द्व र बढ्दो इन्धन लागतले हवाई क्षेत्रको भविष्यलाई थप चुनौतीपूर्ण बनाएको बताएका छन्। “इरान द्वन्द्व र इन्धनको मूल्य वृद्धिले एयरलाइन्सहरूको व्यावसायिक दृष्टिकोणलाई अझै खराब बनाएको छ,” उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

इन्धनको चर्को मूल्य वृद्धि सहन नसकेर अमेरिकी कम्पनी ‘स्पिरिट एयरलाइन्स’ ले मे महिनाको सुरुमै आफ्नो सेवा सञ्चालन बन्द गरेको छ। मध्य पूर्वमा द्वन्द्व सुरु भएको १०० दिन नाघिसक्दा यसले विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पुर्‍याइरहेको छ।