काठमाडौँ महानगरको छात्रवृत्ति : पहिलो सूचीबाट ३ हजार ५१ विद्यार्थी भर्ना, दोस्रो सूचीमा ४८६ जनाको नाम सार्वजनिक

काठमाडौँ,  जेठ २९ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ मा छात्रवृत्ति कोटा अन्तर्गत दोस्रो मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ । पहिलो म्याचिङ् लिष्टबाट ३ हजार ५१ जना विद्यार्थीले भर्ना प्रक्रिया पूरा गरेपछि रिक्त रहेका सिटहरूमा ४८६ जना विद्यार्थीको नयाँ सूची प्रकाशन गरिएको हो ।

महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षा समितिका अनुसार पहिलो चरणमा मनोनयनमा परेका ३ हजार ७३५ विद्यार्थीमध्ये जेठ २७ गतेसम्म ३ हजार ५१ जनाले मात्र सम्बन्धित शिक्षण संस्थामा भर्ना भएका थिए । जसमा विज्ञान विषयमा १ हजार ९०१, व्यवस्थापनमा १ हजार १११, कानुनमा ३४ र मानविकीमा ५ जना विद्यार्थी रहेका छन् ।

दोस्रो सूचीको विवरण र भर्ना समय
रिक्त सिटहरूको आधारमा प्रकाशित दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३, व्यवस्थापनका लागि १४५, कानुनका लागि १५, शिक्षाका लागि २ र मानविकीका लागि १ जना विद्यार्थी सिफारिस भएका छन् ।

समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत रामचन्द्र खड्काका अनुसार योग्यता क्रम, विद्यार्थीको प्राथमिकता र आरक्षण कोटाका आधारमा यो सूची तयार गरिएको हो । दोस्रो सूचीमा परेका विद्यार्थीहरूले असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्नेछ । तोकिएको समयभित्र भर्ना नभएमा छात्रवृत्तिको दाबी स्वतः रद्द हुने महानगरले स्पष्ट पारेको छ ।

कसरी हेर्ने मनोनयन पत्र
छनोटमा परेका परीक्षार्थीहरूले महानगरको छात्रवृत्ति पोर्टल entrance.kathmandu.gov.np मा गएर आफ्नो रोल नम्बर, जन्म मिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गर्न सक्नेछन् । सोही पत्र लिएर विद्यार्थी भर्नाका लागि विद्यालय जानुपर्नेछ ।

कुल कोटा र आगामी प्रक्रिया
महानगरभित्रका १४५ वटा शिक्षण संस्थामा यस वर्षका लागि कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । जसमा विज्ञानतर्फ २,३७१, व्यवस्थापनतर्फ १,५४९, कानुनतर्फ ७५, मानविकी ४९ र शिक्षातर्फ ७ सिट छुट्याइएको छ ।

जेठ १७ गते लिइएको छात्रवृत्ति परीक्षाको नतिजा र पुनर्योग प्रक्रियापश्चात अन्तिम योग्यता सूची प्रकाशन गरिएको थियो । दोस्रो चरणको भर्ना सकिएपछि रिक्त रहने सिटहरूका लागि असार ३ गतेपछि तेस्रो सूची प्रकाशन गर्ने समितिको तयारी छ ।