बिनाअनुमति नेपाली आकाशमा भारतीय सैन्य हेलिकप्टर उडेको विषयमा संसद्‌मा सरकारसँग जवाफ माग

काठमाडौँ, १ असार । दार्चुला जिल्लाको नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति उडेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको बैठकमा सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

संसद्‌मा बोल्दै प्रमुख सचेतक दुलालले भारतीय सेनाको हेलिकप्टर नेपाली भूभाग र हवाई क्षेत्रको उल्लंघन गर्दै अनधिकृत रूपमा दार्चुलाको आकाशमा उडेको दाबी गर्नुभयो। उक्त हेलिकप्टरमा भारतीय सेनाका उच्च सैनिक अधिकारी सवार रहेको दाबी गर्दै उहाँले अन्तर्राष्ट्रिय हवाई नियम र नेपालको सार्वभौम अधिकार विपरीत बिनाअनुमति उडान हुन सक्ने परिस्थिति कसरी सिर्जना भयो भनी सरकारसँग स्पष्टीकरण माग गर्नुभयो।

सीमा क्षेत्रमा छिमेकी राष्ट्रका सैन्य हेलिकप्टरहरू बिनाअनुमति नेपाली आकाशमा प्रवेश गर्नु गम्भीर सुरक्षा संवेदनशीलताको विषय भएको प्रतिपक्षी दलका सांसदहरूको ठहर छ। संसद्‌मा बोल्ने अन्य सांसदहरूले पनि तत्काल यसबारे कूटनीतिक तहबाट सत्यतथ्य बुझ्न र संसद्‌लाई यथार्थ जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।