रसुवाको पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा पुग्यो केन्द्रीय विद्युत् प्रसारण लाइन
काठमाडौँ, १ असार । रसुवाको प्रसिद्ध हिमाली पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायतका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन (राष्ट्रिय ग्रिड) को बिजुली पुगेको छ। राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न थालेसँगै स्थानीय बासिन्दा, होटल व्यवसायी तथा पर्यटकहरूमा खुसीयाली छाएको छ।
नेपाल विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रहरूमा विद्युतीकरणका लागि प्राधिकरणले करिब ९ करोड रुपैयाँ लगानी गरेको छ। यस सेवाबाट क्यान्जिन क्षेत्रका करिब २०० घरधुरी तथा साना-ठूला होटलहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
केन्द्र प्रमुख तामाङले राष्ट्रिय प्रसारण लाइन जोडिएपछि स्थानीय क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेका चिज उद्योग, बेकरी उद्योग तथा साना घरेलु उद्योगहरूलाई व्यवसाय सञ्चालनमा ठूलो टेवा र राहत पुग्ने बताउनुभयो।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र समुद्री सतहदेखि करिब तीन हजार ८७० मिटरको उचाइमा अवस्थित क्यान्जिन गुम्बा लाङटाङ पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो। प्राधिकरणले दुर्गम तथा पर्यटकीय स्थलहरूमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने अभियानलाई तीव्र बनाएको छ। यसअघि गत वर्ष रसुवाकै अर्को प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल गोसाइँकुण्डमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको थियो।
यसअघि क्यान्जिन क्षेत्रमा कादुरी फाउण्डेसनले निर्माण गरेको १०० किलोवाट क्षमताको च्योहा खोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो।
गोसाइँकुण्ड गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष डिण्डु लामा जाङ्वा तामाङका अनुसार उक्त लघु जलविद्युत् गृहमा प्राविधिक समस्या आई मर्मतमा लामो समय लाग्ने देखिएपछि वडा कार्यालयको समन्वयमा तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिएको हो।