अचार बनाएर उद्यमी बन्दै कञ्चनपुरका महिला, खेर जाने फलफूल र तरकारी बन्यो आम्दानीको स्रोत

कञ्चनपुर, २ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौरा विगतमा घरको बारीमा फल्ने आँप, मूला र गाँजरबाट घरेलु उपभोगका लागि मात्र अचार बनाउनुहुन्थ्यो। उचित सरसफाइ र संरक्षण विधिको ज्ञान नहुँदा उहाँले बनाएको अचार केही दिनमै बिग्रने गर्दथ्यो। तर, अहिले पार्वतीदेवी मात्र होइन, उहाँजस्तै ग्रामीण क्षेत्रका अन्य महिलाहरू पनि अचार उत्पादनलाई व्यावसायिक रूप दिएर उद्यमी बन्ने अभियानमा जुटेका छन्।

शुक्लाफाँटा नगरपालिकाको उद्यम विकास शाखाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १० जना स्थानीय महिलालाई व्यावसायिक अचार उत्पादनसम्बन्धी तालिम प्रदान गरेको छ। तालिमपछि महिलाहरूको परम्परागत शैली व्यावसायिकतातर्फ रूपान्तरण भएको छ।

“पहिले अचार बनाउँदा सरसफाइमा त्यति ध्यान दिइँदैनथ्यो,” स्थानीय उद्यमी बन्दनाकुमारी बोहराले भन्नुभयो, “अहिले हात धुने, पञ्जा र मास्क लगाउने तथा कपाल छोप्नेजस्ता कुरा अनिवार्य अपनाउँछौँ, जसले अचारको गुणस्तर र टिकाउपन दुवै बढाएको छ।”

महिलाहरूले स्थानीय स्तरमै उपलब्ध गाँजर, मूला, लसुन, काउली, तितेकरेला, आँप, अमला, बयर र च्याउको व्यावसायिक अचार बनाउन थालेका छन्। अचार बनाउने प्रक्रिया निकै व्यवस्थित गरिएको उद्यमी स्वस्तिमा चौधरीले जानकारी दिनुभयो।

तरकारी र फलफूललाई धोएर, आवश्यक मात्रामा उमालेर र पानी सुकाएपछि मसला तथा तातो तेल मिसाएर प्लास्टिक तथा सिसाको बट्टामा प्याकिङ गरिन्छ। बजार पठाउनुअघि बट्टामा उत्पादनको नाम, उपभोग्य मिति र आवश्यक विवरणसम्बन्धी लेबल टाँसिने गरिन्छ। १० जनाको समूह बनाएर उत्पादन सुरु गरेका उनीहरूलाई हाल बजार व्यवस्थापनका लागि वडाले समेत सहयोग गरेको छ।

उद्यम सुरु गर्न मुख्य चुनौतीका रूपमा रहेको कोठा/स्थानको समस्या हल गर्न शुक्लाफाँटा–३ को वडा कार्यालयले निःशुल्क रूपमा कोठा उपलब्ध गराएको छ। वडासचिव श्याम डगौराले महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न वडाको खाली कोठा उपलब्ध गराइएको र व्यवसाय विस्तार भएपछि उनीहरू आफैँले व्यवस्थापन गर्ने बताउनुभयो।

यस्तै, उद्यम विकास शाखाले अचार बनाउन आवश्यक पर्ने चक्कु, भाँडाकुँडा र मिक्स्चर मेसिन अनुदानमा उपलब्ध गराएको शाखाकी कर्मचारी शान्ता साउदले जानकारी दिनुभयो।

सिजनमा मूल्य नपाएर खेर जाने तरकारी र फलफूलको सदुपयोग हुने हुँदा यो व्यवसाय निकै नाफामूलक र कम लागतको रहेको उद्यमी उर्मिला चौधरीको अनुभव छ। उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीले घरेलु सीपलाई व्यवसायसँग जोडेर ग्रामीण महिलाहरूको आर्थिक सहभागिता बढाउन यो कार्यक्रम प्रभावकारी साबित भएको बताउनुभयो। शुक्लाफाँटाका महिलाहरू अब घरेलु काममा मात्र सीमित नरहेर आफ्नै ब्राण्ड स्थापना गरी बजारमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।