सुर्खेत र दैलेखमा डुबेर तीन जनाको मृत्यु

काठमाडौँ, असार ७ । सुर्खेत र दैलेखका छुट्टाछुट्टै स्थानमा शनिबार डुबेर तीन जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सुर्खेतमा दुई बालिका र दैलेखमा एक युवकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका १० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावत रहेका छन् । शनिबार साँझ खोलामा पौडी खेल्न गएका उनीहरूको डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका एक युवकको पनि शनिबार नै डुबेर मृत्यु भएको छ । १८ वर्षीय रमेश पुनको स्थानीय दहतातलमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।

गर्मि बढेसँगै नदी, खोला र तालहरूमा पौडी खेल्न जाने क्रम बढेकाले यस्ता दुर्घटनाहरू भइरहेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले पौडी खेल्दा विशेष सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।