आकर्षक सुविधाको मोहमा पलायन हुँदै नेपाली चिकित्सक, पाँच वर्षमा ११ हजारभन्दा बढी विदेश
काठमाडौँ, ९ असार । आकर्षक सेवा सुविधा र रोजगारीको अवसर खोज्दै ठूलो सङ्ख्यामा नेपाली चिकित्सकहरू विदेश पलायन भइरहेको चिन्ताजनक तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलको विवरण अनुसार नेपालमा वार्षिक रूपमा उत्पादन हुने नयाँ चिकित्सकको सङ्ख्याकै हाराहारीमा चिकित्सकहरू विदेश जानका लागि काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ (गुड क्यारेक्टर सर्टिफिकेट) लिने गरेका छन्।
काउन्सिलको तथ्याङ्क अनुसार सन् २०२५ मा २ हजार १२२ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए। तर, सोही वर्ष लाइसेन्स लिनेको सङ्ख्याभन्दा २६८ जना बढी अर्थात् २ हजार ३९० जना चिकित्सकले विदेश जानका लागि काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता १३ हजार १४० जनाले लाइसेन्स लिएकोमा ११ हजार ६८ जनाले बाहिरी मुलुक जानका लागि प्रमाणपत्र बुझेका छन्।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार नेपालमा मेडिकल अधिकृत तहमा न्यून पारिश्रमिक र अत्यन्त सीमित अवसर भएकाले विगत १० वर्षदेखि डाक्टरहरू विदेश पलायन हुने क्रम तीव्र बनेको हो। “धेरैजसो चिकित्सकहरू पढ्नभन्दा पनि विदेशमा नोकरी (जागिर) गर्नका लागि जाने गरेका छन्,” डा. पाण्डेले भन्नुभयो।
सन् २०२० यता नेपाली चिकित्सकहरू विश्वका विभिन्न २३ वटा मुलुकमा रोजगारीका लागि पुगेका छन्। जसमध्ये सबैभन्दा बढी अमेरिकामा २ हजार ९९५ जना, बेलायतमा २ हजार ६३७ जना, माल्दिभ्समा २ हजार २४१ जना, छिमेकी मुलुक भारतमा ९१८ जना, अष्ट्रेलियामा ८४८ जना, संयुक्त अरब इमिरेट्स (यूएई) मा ७२० जना, क्यानडामा १४८ र जर्मनीमा ९२ जना नेपाली चिकित्सकहरू पुगेको तथ्याङ्क छ।
तथ्याङ्क अनुसार, विदेश जान चारित्रिक प्रमाणपत्र लिने डाक्टरहरूको सङ्ख्या वार्षिक रूपमा बढ्दो छ। सन् २०२० मा ८६९ जनाले यस्तो प्रमाणपत्र लिएकोमा २०२१ मा १ हजार ३२७, २०२२ मा १ हजार ९५४, २०२३ मा २ हजार ३१८ र २०२४ मा २ हजार २१० जनाले प्रमाणपत्र लिएका छन्।
अर्कातर्फ, सोही अवधिमा नयाँ लाइसेन्स लिने डाक्टरहरूको सङ्ख्या २०२० मा २ हजार १३१, २०२१ मा १ हजार ७१६, २०२२ मा २ हजार ८५, २०२३ मा २ हजार ६९२ र २०२४ मा २ हजार ३९४ जना रहेको छ। हालसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका कुल चिकित्सकहरूको सङ्ख्या ३९ हजार ४८६ पुगेको छ। नेपालमा चिकित्सकीय जनशक्ति उत्पादन भए पनि सेवा सुविधा र रोजगारीको अभावका कारण राज्यले उनीहरूको सीप उपयोग गर्न नसकेको सरोकारवालाहरू बताउँछन्।