चितवनको देवनगरमा ५२ हेक्टरको ‘टाइगर सेन्चुरी’ निर्माण गरिने

काठमाडौँ, ९ असार । राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा मध्यवर्ती बस्तीहरूमा समस्याग्रस्त (घाइते, रोगी वा नरभक्षी) बाघको सङ्ख्या बढ्दै गएपछि सरकारले चितवनको देवनगरमा अत्याधुनिक ‘टाइगर सेन्चुरी’ (बाघ संरक्षण केन्द्र) निर्माण गर्ने योजना अघि बढाएको छ। मुलुकभर समस्याग्रस्त बाघको व्यवस्थापन खर्चिलो र चुनौतीपूर्ण बन्दै गएको पृष्ठभूमिमा ५२ हेक्टर क्षेत्रफलमा फैलाएर प्राकृतिक आश्रयस्थल निर्माण गर्न लागिएको हो।

हाल नेपालभर १६ वटा समस्याग्रस्त बाघलाई विभिन्न निकुञ्ज र चिडियाखानाका साँघुरा खोर (इन्क्लोजर) मा थुनेर राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा ५, बर्दियामा ५, ललितपुरको जावलाखेल चिडियाखानामा ५ र बाँके राष्ट्रिय निकुञ्जमा एउटा बाघ राखिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार एउटा बाघलाई दैनिक साढे तीन किलो राँगाको मासुसहितको आहारा, औषधि र हेरचाहका लागि वार्षिक करिब ३५ लाख रुपैयाँ खर्च हुने गरेको छ। यो व्यवस्थापन निकै खर्चिलो बन्दै गएपछि सरकारले सुरक्षित र दिगो समाधान खोजेको हो।

बाघको सुरक्षित व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा मन्त्रालय, वन विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गरिएको थियो। कार्यदलको प्रतिवेदनका आधारमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देवनगरको टाइगर सेन्चुरीका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

वन तथा वातावरणमन्त्री गीता चौधरीले सोमबार प्रस्तावित निर्माणस्थलको अवलोकन गर्दै यस योजनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुका साथै पर्या-पर्यटनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

विभागका महानिर्देशक डा. बृद्धिसागर पौडेलले पशु कल्याण र पर्या-पर्यटन दुवै दृष्टिले यो एकीकृत योजना कोसेढुङ्गा सावित हुने बताउनुभयो। नेपालले सन् २०१० को रसियाली सेन्टपिटर्सवर्ग सम्मेलनमा सन् २०२२ सम्ममा आफ्नो देशमा रहेका १२१ बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेकोमा हाल त्यो सङ्ख्या झण्डै तेब्बर पुगेर ३५५ कायम भएको छ। जसमध्ये सबैभन्दा बढी चितवनमा १२८ र बर्दियामा १२५ वटा बाघ छन्।