तराईमा तापक्रम निरन्तर उकालो लाग्ने क्रम जारी, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौँ, १० असार । नेपालको तराई क्षेत्रमा तापक्रम निरन्तर उकालो लाग्ने क्रम जारी रहेपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई तातो हावा (लू) बाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आगामी तीन दिनसम्म पश्चिम र लुम्बिनी तराईमा अत्यधिक गर्मी बढ्ने प्रक्षेपण गरेको हो।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा कडा रूपमा तातो हावा चल्ने सम्भावना छ। यसैगरी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भू-भागमा समेत तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

विभागको पूर्वानुमान अनुसार आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस तथा नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्नेछ। यस्तै, वीरेन्द्रनगर र घोराहीको तापक्रममा पनि वृद्धि हुनेछ।

अत्यधिक गर्मी र तातो हावाका कारण स्वास्थ्यमा आउन सक्ने सम्भावित समस्याबाट बच्न प्रवक्ता पोखरेलले सर्वसाधारणलाई दिउँसोको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गर्नुभएको छ। उहाँले शरीरमा पानीको मात्रा सन्तुलित राख्न पर्याप्त मात्रामा पानी पिउन, झोलिलो खानेकुरा सेवन गर्न र स्वास्थ्यमा कुनै समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *