भिनिसियसको दुई गोलमा ब्राजिल समूह विजेता, स्कटल्यान्ड ३–० ले पराजित
काठमाडौं असार ११ । भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत स्कटल्यान्डमाथि ३–० को सहज जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
मियामी स्टेडियममा बुधबार राति भएको खेलमा ब्राजिलले सुरुदेखि नै आफ्नो दबाब कायम राखेको थियो। खेलको सातौँ मिनेटमा स्कटल्यान्डका डिफेन्डर स्कट म्याकेन्नाको गल्तीको फाइदा उठाउँदै भिनिसियसले गोल गरेपछि ब्राजिलले अग्रता बनाएको थियो।
त्यसपछि स्कटल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि ब्राजिलको बलियो रक्षापंक्ति र गोलरक्षक एलिसन बेकर बाधक बने। पहिलो हाफको अतिरिक्त समयमा ब्रुनो गुइमाराइसको क्रसलाई भिनिसियसले हेडमार्फत गोलमा परिणत गर्दै ब्राजिलको अग्रता २–० पुर्याए।
दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो लय कायम राख्यो। ६०औँ मिनेटमा ब्रुनो गुइमाराइसकै पासमा माथेउस कुन्हाले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
स्कटल्यान्डले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। एलिसनले लुइस फर्गुसनको फ्रिकिकसहित स्कट म्याकटोमिनेका दुई प्रहार बचाउँदै टोलीलाई लगातार दोस्रो क्लिन सिट दिलाए।
जितसँगै ब्राजिलले तीन खेलबाट सात अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थान सुरक्षित गर्यो। समान सात अंक भए पनि मोरक्को गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा रह्यो। मोरक्कोले हैटीलाई ४–२ ले पराजित गरेको थियो।
पराजयसँगै स्कटल्यान्डको समूह चरण पार गर्ने सपना झन् कठिन बनेको छ। तीन खेलबाट तीन अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा रहँदा उसको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ।
खेलमा दुई गोल गरेका भिनिसियस जुनियर उत्कृष्ट खेलाडी घोषित भए। उनले समूह चरणका तीनै खेलमा गोल गर्दै ब्राजिलका महान खेलाडी जाइरजिन्हो, रोमारियो, रोनाल्डो र रिभाल्डोको विशेष सूचीमा आफ्नो नाम लेखाउन सफल भए।