रास्वपा महाधिवेशनको असरः पटकपटक स्थगन भयो प्रतिनिधिसभा बैठक
काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका कारण संसद बैठक नै अवरुद्ध भएको छ । रास्वपा महाधिवेशनकै कारण प्रतिनिधिसभा बैठक बस्न सकिरहेको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् । अनि सभामुख पनि रास्वपाकै । यस्तो बेलामा सभामुखले ठ्याक्कै त्यहि बैठककै कारण नभने पनि रास्वपाको महाधिवेशन नसकिएकै कारण बैठक पटकपटक सर्दै आएको छ । आज मात्रै पनि प्रतिनिधि सभा बैठक पटकपटक सूचना टाँसेर स्थगित गरिएको हो ।
बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गर्नुभएको थियो । तर चितवनमा जारी रास्वपाको महाधिवेशन लम्बिँदा सूचना टाँस गरेर फेरि बैठक स्थगित गरिएको हो । संसद् सचिवालयले विशेष कारण बैठक बस्न नसक्ने सूचनामा उल्लेख गरेको छ। अब अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।