थुम्लुङ खोलामा पक्की पुल निर्माण तीव्र : ५५ प्रतिशत काम सम्पन्न

काठमाडौँ, असार १४ । भोजपुरको तेजिङ-हिलारी राजमार्गअन्तर्गत थुम्लुङ खोलामा पक्की पुल निर्माण कार्य सुरु भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ । साल्पासिलिछो गाउँपालिका ६ मा अवस्थित यस खोलामा निर्माणाधीन पुलको हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

कोशी प्रदेश सरकारको करिब रु ४ करोड ९४ लाख ४५ हजार ४५६ को लागतमा निर्माण भइरहेको यस पुलको पिलरसहितका मुख्य संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार ‘ओपन फाउन्डेसन’ प्रविधिमा निर्माण भइरहेको यो पुलको कुल लम्बाइ ३५ मिटर र फुटपाथसहितको चौडाइ ८.४ मिटर रहनेछ । एक स्पानको यो पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष रूपमा जोड्नेछ ।

वर्षौंदेखि वर्षायाममा जोखिमपूर्ण रूपमा खोला तर्नुपर्ने बाध्यता रहेका स्थानीयका लागि यो पुल दीर्घकालीन राहतको स्रोत बन्ने देखिएको छ । स्थानीय खगेन्द्र राईले पुलको अभावमा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतमा समेत ठूलो सास्ती खेप्नुपरेको बताउनुभयो । पुल निर्माणपछि विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक, गर्भवती र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, स्थानीय डिल्लीराम बस्नेतले पुल सम्पन्न भएपछि यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज हुने र स्थानीय व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । वर्षाको समयमा खोलामा पानीको बहाव बढ्दा महिनौंसम्म सडक सम्पर्क विच्छेद हुने समस्याको समेत यसले अन्त्य गर्नेछ ।

पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ । विसं २०८२ असोजमा निर्माण सम्झौता भएको उक्त आयोजना विसं २०८४ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार विकास कार्यालयले तोकिएको समयभित्रै गुणस्तरीय काम सम्पन्न गराउन अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।