ठगी र डेढ करोडको क्रिप्टो कारोबारमा भक्तपुरबाट युवक पक्राउ

काठमाडौँ, २० असार । नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र सो रकमलाई क्रिप्टोमा रूपान्तरण गरी कारोबार गरेको आरोपमा भक्तपुरका २५ वर्षीय मुकेश प्रजापति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मध्यपुर थिमी–५ घर भएका प्रजापतिलाई नियन्त्रणमा लिएर शुक्रबार सार्वजनिक गरेको हो।
काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रजापतिले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनको डिजिटल खाताहरू (वालेट) को खानतलासी गर्दा ७ हजार ४८५ अमेरिकी डलर (करिब ११ लाख ४१ हजार ९८३ नेपाली रुपैयाँ) अझै मौज्दात रहेको फेला पारेको छ। उनले ठगी गरी आर्जन गरेको रकमलाई ‘बाइनान्स’ लगायतका प्लेटफर्ममार्फत क्रिप्टोमा साट्ने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

अनुसन्धानका क्रममा प्रजापतिले सामाजिक सञ्जालका विभिन्न माध्यम प्रयोग गरी मानिसहरूलाई ठगी गर्ने गरेको पाइएको छ। “ठगीबाट आएको पैसालाई ट्रयाक गर्न गाह्रो होस् भनी उनले अभौतिक मुद्रामा साटेर अवैध विनिमय गर्ने गरेको देखिन्छ,” प्रवक्ता भट्टराईले भने।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई पूर्ण रूपमा गैरकानुनी घोषणा गरेको छ। प्रजापतिलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि ठगी र नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।