राहदानी प्रकरण: विभागका महानिर्देशकअर्याल सहित ५ जनालाई धरौटीमा छाड्न विशेष अदालतको आदेश

 

काठमाडौँ, १५ असार ।  राहदानी (पासपोर्ट) छपाइ तथा वितरणमा भएको भ्रष्टाचारको आरोपमा मुछिएका राहदानी विभागका महानिर्देशकसहित पाँच जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

आइतबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि आरोपितहरूलाई ३ देखि ५ लाख रुपैयाँसम्म धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो।

कसलाई कति धरौटी?
अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, विभागका निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

अन्य कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३–३ लाख रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।  नेपालका लागि जर्मनी कम्पनीका एजेन्टका रुपमा रहेका भनिने मणिन्द्रराजसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।तर उनी आधिकारिक एजेन्टका रुपमा रहेको पुष्टि हुने कुनै आधार भने भेटिएको छैन स्रोतको दाबी रहेको छ । 

दुई जना साधारण तारेखमा
सोही मुद्दाका अन्य दुई प्रतिवादीहरू तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई भने अदालतले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। उनीहरूले कुनै धरौटी बुझाउनु नपर्ने गरी रिहा हुन पाउनेछन्।