गोरखामा ६,२५० मिटर अग्लो लुम्बो हिमालको पहिलो सफल आरोहण

काठमाडौँ, असार १५ । गोरखा जिल्लाको गणेश हिमाल श्रृङ्खलाअन्तर्गत पर्ने ६ हजार २५० मिटर अग्लो ‘लुम्बो हिमाल’ को पहिलो पटक सफल आरोहण गरिएको छ । नेपाली र अमेरिकी पर्वतारोहीको संयुक्त टोलीले यसअघि आरोहण नभएको यस नयाँ शिखरको सफल आरोहण गरेसँगै यसको पर्यटकीय पहिचान समेत स्थापित भएको छ ।

जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित यस हिमालको पहिलो आरोहण असार ८ गते भएको हो । अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङका अनुसार, हिमालय समिट क्लबद्वारा आयोजित यस अभियानका चार पर्वतारोहीले हिमालको दक्षिण पश्चिम मोहडाबाट नयाँ मार्ग पहिल्याउँदै शिखर चुम्न सफल भएका हुन् ।

आरोहण टोलीमा गोरखा लाप्राकका अनुभवी पर्वतारोहीहरू तुलसिंह गुरुङ, सुजल गुरुङ, र आशबहादुर गुरुङका साथै अमेरिकी पर्वतारोही एरिक म्याथ्यु सु सहभागी थिए । मनास्लु संरक्षण क्षेत्रको उत्तरी भेग र गणेश हिमाल श्रृङ्खलाको दक्षिणमा पर्ने लुम्बो हिमाल हालसम्म मानव पाइला नपुगेको एक दुर्गम र चिनारीविहीन शिखरको रूपमा रहेको थियो ।

आरोहणको प्राविधिक पक्षबारे जानकारी दिँदै स्थानीय वीसबहादुर गुरुङले टोलीले मनास्लु पदमार्गबाट चार दिनको कठिन पैदल यात्रापछि आधार शिविर स्थापना गरेको बताउनुभयो । टोलीले ४ हजार १५० मिटरमा आधार शिविर र ५ हजार ४९ मिटरमा उच्च शिविर खडा गरी हिउँ, चट्टान र बरफको अवस्था मूल्याङ्कन गर्दै शिखर तर्फको यात्रा तय गरेको थियो । उच्च शिविरबाट करिब २० घण्टाको निरन्तर प्रयासपछि टोलीले शिखर आरोहण गरेको आरोही सुजल गुरुङले जानकारी दिनुभयो ।

पर्वतारोहणको क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नुअघि ६ हजार मिटरका हिमाल चढेको अनुभव अनिवार्य मानिन्छ । यस हिमालको सफल आरोहणले आगामी दिनमा मनास्लु हिमाल आरोहण गर्न चाहने पर्वतारोहीहरूका लागि यो एक उत्कृष्ट ‘अभ्यास हिमाल’  बन्न सक्ने सम्भावना देखिएको छ । विकासका दृष्टिले ओझेलमा परेको र कुनै बस्ती वा स्थापित पदमार्ग नभएको यस क्षेत्रमा नयाँ हिमालको पहिचानसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।