बढ्दो सहरीकरणले खुम्चिँदै खेतीयोग्य जमिन : टोखामा २३औँ राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ, असार १५ । काठमाडौँ उपत्यकामा तीव्र रूपमा भइरहेको सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएकोमा सरोकारवाला तथा कृषकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले वडा नं. २, लबुमा आयोजना गरेको ‘२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’का अवसरमा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै स्थानीय कृषकहरूले काठमाडौँ उपत्यकाको उर्वर भूमि क्रमिक रूपमा घडेरीमा परिणत हुँदै गएकोमा दुःख व्यक्त गरे । स्थानीय कृषक केदार बिडारीले जनघनत्व वृद्धिसँगै टोखा मात्र नभई समग्र उपत्यकाकै कृषि क्षेत्र संकटमा परेको बताउनुभयो । अर्का कृषक साम्बाल श्रेष्ठले अव्यवस्थित बस्ती विकास र खेतीयोग्य जमिनमा घर बन्ने क्रम बढेसँगै धान उत्पादनमा प्रत्यक्ष असर परेको र यसले भविष्यमा खाद्य सुरक्षामा ठुलो चुनौती निम्त्याउने उल्लेख गर्नुभयो ।

नेपालमा धान उत्पादनको महत्त्व र कृषकको श्रमको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । तर, पछिल्लो समय सिँचाइको असुविधा, उन्नत बीउ र मलको अभाव, युवा जनशक्तिको वैदेशिक रोजगारीप्रतिको आकर्षण तथा जग्गाको खण्डीकरणका कारण धान खेती प्रभावित हुँदै आएको छ ।

टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठकका अनुसार नगरपालिकाभित्र हाल करिब ४०० हेक्टर जमिन मात्र खेतीयोग्य बाँकी रहेको छ । टोखालाई कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले प्रविधियुक्त खेती प्रणालीमा जोड दिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले कृषकहरूलाई समयमै मल, बीउ र बिरुवा उपलब्ध गराउनुका साथै सहरी क्षेत्रमा ‘छत खेती’लाई समेत प्रोत्साहन गरिरहेको पाठकले बताउनुभयो ।

महोत्सवमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय कृषक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई धान रोप्ने व्यावहारिक तरिका सिकाइनुका साथै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । हाल टोखा नगरपालिकाका वडा नं. १, २ र ३ मा केही मात्रामा खेतीयोग्य जमिन बाँकी रहे पनि अन्य वडाहरू भने पूर्णतः सहरीकरण भइसकेका छन् ।