बझाङमा मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौँ, १५ असाेज । बझाङको दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकामा मन्दिर निर्माणका नाममा लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित कार्यक्रम अन्तर्गत छबिसपाथीभेरा–६ स्थित ‘बाँठपाली देवता मन्दिर’ निर्माण गर्दा २२ लाख १ हजार ६६५ रुपैयाँ हिनामिना भएको ठहर गर्दै आयोगले सोमबार मुद्दा दायर गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित ४५ लाख रुपैयाँ बजेट परिचालन गर्ने जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो। आयोगको अनुसन्धानका अनुसार निर्माण भएको भन्दा बढी काम देखाउने, सामग्रीको दर अस्वाभाविक रूपमा महँगो राख्ने र उपभोक्ता समितिको जनसहभागिता रकम समेत कट्टा गरी नक्कली बिल भरपाईका आधारमा भुक्तानी लिइएको पाइएको छ।
अख्तियारले भ्रष्टाचारमा संलग्न भएको भन्दै कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिका सदस्यहरूलाई विपक्षी बनाएको छ। मुद्दा दायर गरिएकाहरूमा: मकरबहादुर मण्डेल: दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रेमप्रसाद पौडेल: लेखापाल, हिक्मत रावल: इन्जिनियर (छबिसपाथीभेरा गाउँपालिका), बमबहादुर बोहरा: सब-इन्जिनियर, राधिकाकुमारी रतला: तत्कालीन उपाध्यक्ष (छबिसपाथीभेरा गाउँपालिका) र मोहनलाल विक: वडा अध्यक्ष (वडा नं. ६) रहेका छन् ।
यस्तै, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले नौ जनाकै हकमा जनही २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिबाना र कैद सजायको माग दाबी गरेको छ। स्वीकृत लागत ५६ लाख ७ हजार ८९७ रुपैयाँ रहेको सो योजनामा उपभोक्ता सहभागिताबापतको ११ लाख ७ हजार ८९७ रुपैयाँ समेत हिनामिना गरिएको आयोगको दाबी छ।
मन्त्रालयको बजेटमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा मन्दिर जस्तो धार्मिक क्षेत्रमा समेत भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा आफ्नो आरोपपत्र पेस गरेको हो।