भारी वर्षाको पूर्वानुमान : सम्भावित बाढी र डुबानलाई मध्यनजर गर्दै झापामा उच्च सतर्कता
काठमाडौँ, असार १६ । जल तथा मौसम विज्ञान विभागले पूर्वी तराईसहित देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । असार १६ र १७ गते धेरै भारी वर्षा हुनसक्ने भएकाले तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन प्रशासनले निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा मेघगर्जन र चट्याङसहितको वर्षाले नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । विशेषगरी कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्रहरू बाढीबाट बढी प्रभावित हुने गरेका छन् । जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा रहेका छन् ।
सम्भावित क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय र स्थानीय तहका संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत प्रतिकार्य योजना तयार पारेको छ । प्राथमिकताका आधारमा बाढी प्रकोपलाई पहिलो नम्बरमा राखेर हामीले सेना, प्रहरी, रेडक्रस र स्थानीय पालिकासँग निरन्तर समन्वय गरिरहेका छौँ ।’
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लाका करिब आठ हजार घरधुरी बाढीको अति उच्च जोखिममा छन् । रेडक्रसले सात विभिन्न स्थानमा आकस्मिक राहत तथा खाद्यान्न भण्डारण गरेको छ । रेडक्रस झापाका सभापति लोकराज ढकालले १२० भन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोलीलाई खोज तथा उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा परिचालन गरिएको बताउनुभयो ।
यसैबीच, विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न गरिएको छ । असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० नगर प्रहरीहरूलाई समुदायस्तरमा उद्धार र व्यवस्थापनका लागि दक्ष बनाइएको छ ।
प्रशासनले बाढी र डुबानको समयमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै स्थानीय तहसँगको सहकार्यमा सुरक्षित आश्रयस्थलहरूको व्यवस्थापनलाई चुस्त बनाएको जनाएको छ ।