खोटाङको ‘शताब्दी’ पुरानो वासिङ पहिरो: आधा दर्जन गाउँ र विद्यालय उच्च जोखिममा, बर्सेनि स्थानीयको उठीबास

खोटाङ, १९ असार । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङमा रहेको ‘वासिङ पहिरो’ एक शताब्दीदेखि स्थानीय बासिन्दाका लागि अभिशाप बनेको छ। १९९० सालको महाभूकम्पभन्दा अगाडिदेखि सुरु भएको यो पहिरो अहिले पनि नरोकिँदा दर्जनौँ घर र सयौँ रोपनी उब्जाउ भूमि बगरमा परिणत भइसकेको छ।

बर्सेनि बर्खा सुरु भएसँगै यहाँका स्थानीय बासिन्दा ज्यान जोगाउन थातथलो छाडेर अन्यत्र भाग्नुपर्ने विवशता कायमै छ।
बुँवाखोलाबाट सुरु भएको यो पहिरोले कति क्षति गर्यो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म कुनै निकायसँग छैन। तर, स्थानीय वृद्ध दीर्घमान राईका अनुसार यो पहिरोले पुस्तौँदेखिको उठीबास लगाएको छ। “यो पहिरो हाम्रा बाजेबराजुको पालादेखि सुरु भएको हो। अहिलेसम्म दर्जनौँ घर र सयौँ रोपनी खेतबारी बगाइसक्यो,” राईले दुखेसो पोख्दै भने, “बर्सेनि पहिरो झर्छ, तर यसको रोकथामका लागि कसैले चासो दिएको छैन।” पहिरोका कारण बुँवाखोला किनारका उब्जाउ खेतहरू बगर बनेपछि धेरै किसानहरू बसाइँ सरेर पूर्वी तराईका जिल्लाहरूतर्फ गइसकेका छन्।

वासिङ पहिरोको जोखिम अहिले बस्ती र विद्यालयसम्मै पुगेको छ। पहिरोभन्दा करिब २०० मिटरमाथि रहेको विजय आधारभूत विद्यालय कुनै पनि बेला पुरिन सक्ने खतरामा छ। विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले भने, “विद्यालयभन्दा केही तल रहेका डुम्रीबोटे र युराङ गाउँको नजिकैसम्म पहिरो आइसकेको छ। कुन बेला के हुन्छ भन्ने पत्तो छैन, सबैजना त्रासमा छौँ।”
पहिरोका कारण अहिले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीका बस्तीहरू उच्च जोखिममा रहेका छन्। पहिरोको बीच भागमा बस्ने १५ घरधुरी त पहिल्यै विस्थापित भइसकेका छन्।

करिब डेढ किलोमिटर माथिसम्म फैलिएको यो पहिरोले ठूलो वर्षा हुँदा बुँवाखोला थुन्ने गरेको छ। खोला थुनिएपछि तल्लो क्षेत्रका बासिन्दाहरू थप जोखिममा पर्ने गरेका छन्। पहिरो प्रभावित क्षेत्रमा पानीको मुहान रहेकाले जमिन सधैँ रसाउने र लेदो बगिरहने समस्या छ।

बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरोको आकार यति विशाल छ कि वडा र गाउँपालिकाको बजेटले यसको रोकथाम सम्भव छैन। “यो पहिरो नियन्त्रण गर्न ठूलो प्राविधिक अध्ययन र बजेट आवश्यक छ,” वडाध्यक्ष राईले भने, “सम्बन्धित निकाय र सङ्घीय सरकारले बेलैमा ध्यान नदिने हो भने यहाँका आधा दर्जन गाउँ नै नक्साबाट हराउने अवस्था आउन सक्छ।”

एक शताब्दी लामो यो प्राकृतिक प्रकोपले गर्दा स्थानीय बासिन्दाहरूको आर्थिक र सामाजिक जीवन तहसनहस भएको छ। तराई झर्न नसक्ने विपन्न परिवारहरू भने अझै पनि ‘जुनसुकै बेला जमिन भासिने’ त्रास बोकेर त्यहीँ बस्न बाध्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *