बाँकेमा हरियाली प्रवर्द्धनका लागि ६ लाखभन्दा बढी बिरुवा निःशुल्क वितरण सुरु
काठमाडौँ, असार १९ । बाँके जिल्लामा हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा करिब सात लाख बिरुवा निःशुल्क वितरण सुरु गरेको छ। कार्यालयले जिल्लाका कृषकहरूलाई लक्षित गरी विभिन्न प्रजातिका ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरेर वितरण प्रक्रिया अघि बढाएको हो ।
वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार यस वर्ष ५ लाख ८८ हजार ८७२ एकवर्षीय र ८९ हजार ३०० बहुवर्षीय बिरुवा उत्पादन गरिएका छन्। मंगलबारदेखि सुरु गरिएको यस वितरण कार्यक्रमअन्तर्गत किसानहरूले आफ्नो आवश्यकता र चाहनाअनुसारका बिरुवाहरू लैजान सक्नेछन् ।
नर्सरीमा विशेषगरी काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा सजावटका बिरुवाहरू हुर्काइएका छन्। वितरण गरिने प्रमुख प्रजातिहरूमा सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ र अम्बा रहेका छन् । त्यसैगरी, सेतो तथा कालो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासिया, अमला, जामुन, पारिजात, सतिसाल, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अर्जुन, धुपी, रिठा, कपुर र कुसुम लगायतका बिरुवाहरू पनि उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
वातावरणीय सन्तुलन कायम राख्न र वृक्षारोपणमार्फत किसानहरूको आर्थिक स्तर उकास्ने लक्ष्यसहित कार्यालयले बर्सेनि यसरी बिरुवा उत्पादन तथा वितरण गर्दै आएको छ। बिरुवा लिन आउने किसानहरूको सङ्ख्या उत्साहजनक रहेको र यसले जिल्लाको वन क्षेत्र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।