अहिले पार्टी एकताको सम्भावना छैन, त्यस भ्रममा नपर्नुः अध्यक्ष ओली

काठमाडौँ, १६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, बामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेकपा ९एमाले० राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको बताउनुभयो ।

‘देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, बामपन्थी र देशभक्तहरुबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी समूहगत र संस्थागत एकता गर्दैनौं तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं ।’

अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको बताउनुभयो । उहाँले एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको भन्दै अहिले पार्टी एकताको सम्भावना नरहेको र त्यस भ्रममा नपर्न नेताकार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

‘गत फागुन २१ गतेको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कस्ले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट हुन्छ ।’ उहाँले गत भदौ २३÷२४ को घटना संविधान, लोकतन्त्र र हाम्रा विरुद्धको आक्रमण र षडयन्त्र थियो भन्दै त्यो उपद्रव युवा विद्रोह, आन्दोलन थियो भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीहरुलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै शत्रुहरुले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन सुझाउनुभयो ।