नेपाल राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र आह्वान, बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने

काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ क’ का लागि प्रस्ताव माग गरेको हो।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्रको बोलकबोल प्रक्रिया अनलाइनमार्फत हुनेछ। यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) ले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।

सहभागी हुन चाहने वित्तीय संस्थाहरूले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ। ब्याजदर प्रस्ताव गर्दा दशमलव पछाडिको चार अङ्कसम्म (उदाहरणका लागि ५.१२३४ प्रतिशत) उल्लेख गर्नुपर्ने विभागले जनाएको छ।

ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकम (३५ अर्ब) सम्म बोलकबोल गर्न सकिनेछ। आवेदन दिँदा ५ करोडले भाग जाने गरी (निःशेष भाग जाने गरी) रकम तोक्नुपर्ने बैंकले सर्त राखेको छ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापन वा सरकारका लागि आन्तरिक ऋण जुटाउने प्रक्रिया अन्तर्गत राष्ट्र बैंकले यस्ता ऋणपत्रहरू समय–समयमा जारी गर्ने गर्दछ।