अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा १ अर्ब डलरको क्रिप्टो आम्दानी सार्वजनिक, कुल सम्पत्ति ६ अर्ब ५० करोड डलर पुग्यो
एजेन्सी, १७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्नो परिवारसँग आबद्ध क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को कारोबारबाट करिब एक अर्ब अमेरिकी डलर बराबरको आम्दानी गर्नुभएको तथ्य सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पाना लामो विस्तृत आर्थिक खुलासा प्रतिवेदन अनुसार उहाँको कुल व्यक्तिगत सम्पत्ति बढेर ६ अर्ब ५० करोड डलर पुगेको छ।
फोर्ब्स पत्रिकाका अनुसार यस ठूलो व्यावसायिक आम्दानीका कारण सन् २०२४ देखि २०२६ को अवधिमा राष्ट्रपति ट्रम्पको व्यक्तिगत नेटवर्थ २ अर्ब ३० करोड डलरबाट बढेर साढे ६ अर्ब डलर पुगेको हो।
प्रतिवेदन अनुसार राष्ट्रपति ट्रम्पले विशेष गरी ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ र ‘ट्रम्प क्रिप्टोकरेन्सी’ सँग सम्बन्धित व्यावसायिक सम्झौताहरूबाट ठूलो रोयल्टी प्राप्त गर्नुभएको हो। उहाँले सन् २०२५ जनवरीमा राष्ट्रपतिको शपथ लिनुअघि हस्ताक्षर गरेको ट्रम्प क्रिप्टोकरेन्सी लाइसेन्स सम्झौताबाट ६३ करोड ५० लाख डलर र वर्ल्ड लिबर्टी फाइनान्सियलबाट ५ करोड ५० लाख डलर रोयल्टी प्राप्त गर्नुभएको छ।
वर्ल्ड लिबर्टी फाइनान्सियल कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए। ट्रम्प र उहाँका तीन छोराले डीटी मार्क्स डेफीमार्फत थप २२ अर्ब ५० करोड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन्, जसको वर्तमान मूल्य १ अर्ब ३० करोड डलर रहेको जनाइएको छ।
सत्तारुढ राष्ट्रपतिले क्रिप्टोकरेन्सीमा गरेको यस ठूलो लगानी र सोही क्षेत्रलाई नियमनमुक्त बनाउन गरेका नीतिगत प्रयासहरूले ‘स्वार्थको द्वन्द्व’ सिर्जना गरेको भन्दै आलोचना भइरहेको छ। ह्वाइट हाउसले भने यी आरोपहरूको खण्डन गरेको छ।