इजरायल निर्वाचन: नेतन्याहु र आइजेनकोटबीच कडा टक्कर, कसैले बहुमत नपाउने एग्जिट पोलको संकेत
येरुसेलम । इजरायलमा मंगलबार सम्पन्न संसदीय निर्वाचनको एग्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका प्रतिद्वन्द्वी पूर्वसेनाप्रमुख गादी आइजेनकोटको गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ। कुनै पक्षले पनि सरकार बनाउन आवश्यक बहुमत पाउने संकेत देखिएको छैन।
१२० सदस्यीय नेसेट (संसद्) मा बहुमतका लागि ६१ सिट चाहिन्छ। इजरायलका प्रमुख टेलिभिजन च्यानलले सार्वजनिक गरेको एग्जिट पोलमा आइजेनकोटको नेतृत्वको विपक्षी गठबन्धनले ५२–५३ सिट र नेतन्याहुको लिकुद नेतृत्वको गठबन्धनले करिब ५० सिट जित्ने अनुमान गरिएको छ। बाँकी १७–१८ सिट अरबी पार्टीहरूले जित्ने अनुमान छ।
मतदान सकिएपछि पछिल्लोपटक अद्यावधिक गरिएको च्यानल १३ को एग्जिट पोलमा दुवै गठबन्धनलाई ५१–५१ सिट देखाइएको छ। अरबी पार्टीहरूले १८ सिट जित्ने अनुमान त्यसमा पनि कायम छ। अरबी पार्टीहरूले चार वर्षअघिको तुलनामा राम्रो प्रदर्शन गर्ने संकेत यसले दिएको छ।
लिकुद सबैभन्दा ठूलो दल बन्ने अनुमान
एग्जिट पोलअनुसार नेतन्याहुको लिकुद एकल दलका रूपमा सबैभन्दा ठूलो बन्दैछ, तर गठबन्धनको समग्र सिट सङ्ख्या घट्ने देखिएको छ। च्यानल १३ को अद्यावधिक पोलमा लिकुदले २७ र आइजेनकोटको यशर पार्टीले २१ सिट पाउने अनुमान छ। अघिल्लो अनुमानमा लिकुदलाई २५ र यशरलाई २३ सिट दिइएको थियो।
च्यानल १२ ले लिकुदलाई २४ र यशरलाई २२, कान ११ ले लिकुदलाई २५ र यशरलाई २१ सिट दिएका छन्। नेतन्याहुप्रति नजिक मानिने च्यानल १४ ले भने उनको गठबन्धनले ६० सिट पाउने र आइजेनकोटको गठबन्धन ४३ मा सीमित हुने अनुमान गरेको छ। अन्य प्रमुख च्यानलको अनुमानभन्दा यो निकै फरक रहेको छ।
एग्जिट पोल आधिकारिक नतिजा होइन र प्रायः अनुमानमा केही फरक पर्ने गर्छ। मतगणना मंगलबार राति सुरु भएको छ र अन्तिम नतिजा बुधबार आउने अपेक्षा गरिएको छ।
नेतन्याहु गठबन्धनलाई ठूलो झट्का
निर्वाचनअघि नेतन्याहुको गठबन्धनसँग संसद्मा ६८ सिट थियो। एग्जिट पोल सही ठहरिए यो सङ्ख्या करिब ५० मा झर्नेछ। इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अध्यक्ष योहानन प्लेस्नरले यसलाई नेतन्याहुको गठबन्धनका लागि ठूलो पराजय भनेका छन्। तर आइजेनकोट स्पष्ट विजेताका रूपमा उदाएको भने नदेखिएको र मतगणना अघि बढ्दै जाँदा धेरै कुरा बदलिन सक्ने उनले चेतावनी दिए।
अनुमानअनुसार नतिजा आए आइजेनकोटलाई पहिलो पटक सरकार गठन गर्ने मौका मिल्न सक्छ। उनले अल्पमतको सरकार बनाउन पनि सक्ने विश्लेषकको भनाइ छ, जसले नेतन्याहुलाई सत्ताबाट हटाए पनि अर्को निर्वाचनसम्म मात्र टिक्न सक्छ। अर्कोतर्फ, गतिरोध कायम रहे नयाँ सरकार नबन्दासम्म नेतन्याहु काम चलाउ प्रधानमन्त्रीका रूपमा रहन सक्ने र यसले उनलाई फाइदा पुग्न सक्ने समाचार संस्थाहरूले उल्लेख गरेका छन्।
अरबी पार्टीहरू निर्णायक भूमिकामा आउन सक्ने अनुमान गरिए पनि नेतन्याहु र आइजेनकोट दुवैले साझा मूल्यमान्यता नमिल्ने भन्दै उनीहरूसँग सहकार्य गर्न अस्वीकार गरिसकेका छन्।
“परिवर्तनका लागि मतदान भयो”: आइजेनकोट
एग्जिट पोलपछि तेल अभिभस्थित यशर पार्टीको मुख्यालयमा सम्बोधन गर्दै आइजेनकोटले इजरायली जनताले “परिवर्तनका लागि मतदान गरेको” बताए। नेतन्याहु सरकारले जनताको विश्वास गुमाएको र जनता “झूटबाट थकित” भएको उनको भनाइ थियो। उनले यसलाई “नेतन्याहु र ७ अक्टोबरको सरकारप्रति पूर्ण अविश्वास” भनेका छन्।
उनले दोस्रो पटक निर्वाचन गराउनु गल्ती हुने भन्दै जनताको इच्छालाई यथार्थमा बदल्नु सबैको कर्तव्य रहेको बताए। “नेतन्याहुले आफ्नो राजनीतिक स्वार्थका लागि इजरायलको सुरक्षालाई प्रयोग गर्नु हुँदैन,” उनले भने। सबैका लागि सैनिक सेवा अनिवार्य गर्ने र समाजका सबै समूहको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता पनि उनले जनाए।
६६ वर्षीय आइजेनकोटले गाजा युद्धमा आफ्नो एक छोरा र दुई भतिजा गुमाएका छन्। सुरक्षा मामिलामा कडा अडान र घरेलु राजनीतिमा मध्यमार्गी छवि बनाएर उनी नेतन्याहुका सबैभन्दा बलिया चुनौतीकर्ताका रूपमा उदाएका हुन्।
लिकुद समर्थकमा मिश्रित प्रतिक्रिया
येरुसेलमस्थित लिकुद मुख्यालयमा जमघट भएका समर्थकहरूले निराशा र आशा दुवै व्यक्त गरे। लिकुद सबैभन्दा ठूलो दल बन्ने अनुमानलाई उनीहरूले सकारात्मक मानेका छन्। पूर्वशिक्षामन्त्री तथा लिकुद सांसद योआभ किशले वास्तविक नतिजाको प्रतीक्षा गर्न आग्रह गरे। नेतन्याहु आफ्ना समर्थकलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ, र उनी पार्टी पराजित नभएको दाबी गरिरहेका छन्।
रेकर्ड मतदान
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान प्रतिशत ७७.७ पुग्यो। यो सन् १९९९ यता सबैभन्दा उच्च हो र २०२२ को निर्वाचनभन्दा करिब ७ प्रतिशत बिन्दुले बढी हो। ७३ लाख ३१ हजारभन्दा बढी योग्य मतदातामध्ये ५४ लाख ४९ हजारले मत हाले। अरबी समुदाय र अति-रूढिवादी समुदायमा पनि उच्च सहभागिता देखिएको छ।
सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलमा भएको यो पहिलो आम निर्वाचन हो।
“घृणा फैलाएको” आरोप
अरबी दलका प्रमुख नेताहरूले नेतन्याहुमाथि चुनावी लाभका लागि इजरायलका प्यालेस्टिनी नागरिकविरुद्ध घृणा भड्काएको आरोप लगाएका छन्।
विश्लेषकको टिप्पणी
अल जजिराका वरिष्ठ राजनीतिक विश्लेषक मरवान बिशाराका अनुसार आइजेनकोटको सम्बोधन “विजय भाषण” जस्तो सुनिए पनि त्यो “समयभन्दा अघिको” थियो। नेतन्याहुले पनि विजयको दाबी गर्ने उनको अनुमान छ, किनकि राष्ट्रपति इसाक हर्जोगले दुईमध्ये एकलाई सरकार गठन गर्न बोलाउनुपर्छ र दुवैलाई जितेको छवि चाहिन्छ। हर्जोगले जसलाई छनोट गर्छन्, उसले “थप शक्ति” पाउनेछ। नेतन्याहुले मौका पाए प्रतिद्वन्द्वी गठबन्धनका कुनै साझेदारलाई आफ्नो पक्षमा तान्नुपर्ने हुन्छ।
