होर्मुजमा बारुदी सुरुङ ठोक्किँदा तीन ट्यांकरमा आगलागी: आईआरजीसी

तेहरान/वासिङ्टन, , १२ कात्तिक ।  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) नौसेनाले होर्मुज जलसन्धिमा बारुदी सुरुङ (माइन) ठोक्किँदा तीनवटा ट्यांकरमा आगलागी भएको दाबी गरेको छ। अल जजिराका अनुसार आईआरजीसी नौसेनाले ती जहाजले आफ्ना रडार र नेभिगेसन प्रणाली बन्द गरी जलसन्धिको “अनधिकृत दक्षिणी मार्ग” छाड्न खोजिरहेका बेला क्षति भएको बताएको हो।

आईआरजीसी नौसेनाले जलसन्धिको पश्चिमी क्षेत्रमा अमेरिकाको “जासुसी र भ्रम सिर्जना गर्ने” ड्रोन कब्जा गरेको पनि जनाएको छ। यी दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

होर्मुज “कहिल्यै नखुल्ने”: आईआरजीसी प्रवक्ता

इरानी समाचार संस्था फार्सलाई उद्धृत गर्दै अल जजिराले आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले विश्व व्यापारका लागि महत्त्वपूर्ण यो जलमार्ग इरानका मागहरू पूरा नभएसम्म बन्द नै रहने बताएको जनाएको छ।

“होर्मुज जलसन्धि आज इरानी सशस्त्र बलको रणनीतिक नियन्त्रणमा छ र इस्लामिक गणतन्त्रका सर्तहरू पूर्ण रूपमा पूरा नभएसम्म यो कहिल्यै खोलिने छैन,” मोहेबीले भनेको फार्सले उद्धृत गरेको छ।

उनले “शत्रु” ले इरानको आणविक र क्षेप्यास्त्र क्षमता ध्वस्त पार्न खोजेको तर अमेरिकाको “लुकेको लक्ष्य” “ग्रेटर इजरायल” योजना सफल बनाउनु रहेको आरोप लगाएका छन्।

कूटनीतिक प्रयास तीव्र

यता, आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तीव्र हुँदै गएको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चिकित्सा सामग्रीका लागि सहयोग चाहिएको भन्दै उपराष्ट्रपति जेडी भ्यान्सले इरानसँग सम्पर्क गर्न गरेको अनुरोध आफूले स्वीकृत गरेको बताएका छन्।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले होर्मुज जलसन्धि पुनः खोल्ने इरानको सात दिने योजना कार्यान्वयनबारे मध्यस्थकर्ताहरूसँग “निकट र निरन्तर सम्पर्क” मा रहेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *