वर्षमा एकपटक किन निस्कन्छ टोखाको ऐतिहासिक पायो (खड्ग) जात्रा ?
काठमाडौँ, ६ कात्तिक । काठमाडौँको टोखामा नेवार समुदायले मनाउँदै आएको ऐतिहासिक पायो (खड्ग) जात्रा सम्पन्न भएकाे छ ।
धार्मिक आस्था, तान्त्रिक परम्परा र सांस्कृतिक सम्पदाको जीवन्त प्रतीकका रूपमा परिचित पायो (खड्ग) जात्रा दसैँ अर्थात् मोहनी नखःका अवसरमा आश्विन शुक्ल एकादशीका दिन मनाइन्छ यो जात्रा सत्यको असत्यमाथिको विजयको प्रतीककारूपमा पनि मानिन्छ।
पायो जात्राको मुख्य आकर्षण प्राचीन तथा पूजनीय खड्ग हो। स्थानीय परम्पराअनुसार ‘पा’ को अर्थ काट्ने हतियार अर्थात् खड्ग र ‘या’ को अर्थ यात्रा वा जात्रा भन्ने बुझिन्छ। खड्गमा अन्तर्निहित शक्तिलाई जागृत गराउने विश्वासका साथ तान्त्रिक विधिअनुसार पूजा तथा साधना गरिने जात्रा नै पायो (खड्ग) जात्रा हाे ।
जात्राका क्रममा पवित्र खड्गलाई बाँसले सुरक्षित रूपमा बेरेर सजाइएको काठको खटमा राखिन्छ। त्यसपछि समुदायका व्यक्तिहरूले काँधमा बोकेर शोभायात्रा गरिन्छ । स्थानीय तलेजु भवानीको मन्दिरबाट सुरु हुने जात्रा टोखाको माथिल्लो लाछीसम्म पुग्ने परम्परा रहेको छ।
यस जात्राको विशेष पक्ष वर्षमा एकपटक मात्र सार्वजनिक रूपमा निकालिने ऐतिहासिक खड्गको दर्शन गर्न पाउनु हो। परम्पराअनुसार सर्वसाधारणले यसै अवसरमा खड्गको दर्शन गर्ने मौका पाउँछन्।
टोखाको पायो जात्रा धार्मिक शोभायात्रा मात्र नभई नेवार समुदायको ऐतिहासिक पहिचान, सांस्कृतिक निरन्तरता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आस्थाको प्रतीक हाे । यसले टोखाको मौलिक संस्कृति तथा परम्परागत सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
तस्बिरहरू : प्रदीप महर्जन









