चक्रवात अर्नबले आन्ध्र प्रदेशमा तीनको मृत्यु, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कात्तिक ११ । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ। भारतीय मिडियाका अनुसार चक्रवातले राज्यका ७१४ गाउँ प्रभावित भएका छन्।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको अर्नब बिहानपख करिब १:२० बजे यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमबीच पर्ने काकीनाडानजिक जमिनमा प्रवेश गर्न थालेको हो।
चक्रवातले निम्त्याएको तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न जिल्लामा घरका छाना उडेका, रुख र बिजुलीका खम्बा ढलेका छन् भने तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन्। ओडिशाका दक्षिणी जिल्लामा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ। प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेका छन् र १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ।
नेपालमा पनि असर
नेपालका मौसमविद्का अनुसार चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुगी माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुनेछ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले प्रभावको संकेत आजैदेखि देखिने बताइन्। बिहीबार रातिदेखि उच्च हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षा हुनेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा वा हिमपात पनि हुन सक्छ।
