शिक्षकले फेला पारे दुई ठूला पाइलाका छाप: टी-रेक्स को पहिलो ‘ट्र्याकवे’ पत्ता लागेपछि वैज्ञानिकहरू उत्साहित

हड्डीका अवशेषहरूले जीवको संरचनाबारे जानकारी दिए पनि पाइलाका छापहरूले ६ करोड ६५ लाख वर्षअघिको तिनको प्रत्यक्ष चाल र व्यवहार बुझ्न मद्दत पुर्‍याउँछन्।

 

डेन्भर ।  अमेरिकाको चर्चित ‘हेल क्रिक फर्मेसन’  क्षेत्रमा अध्ययन भ्रमणमा निस्किएका एक माध्यमिक विद्यालयका शिक्षकले करिब ६ करोड ६५ लाख वर्ष पुरानो ऐतिहासिक खोज गरेका छन्। कोलोराडोका विज्ञान शिक्षक केन्ट हप्सले टी-रेक्स  डाइनोसरका पाइलाका छापहरू (ट्र्याकवे) फेला पारेका हुन्, जसलाई जीवावशेष विज्ञान को क्षेत्रमा पहिलो र दुर्लभ खोज मानिएको छ।

अमेरिकाको मोन्टाना, वायोमिङ, नर्थ डाकोटा र साउथ डाकोटासम्म फैलिएको यो क्षेत्र डाइनोसरका हड्डीका लागि धनी मानिए पनि पाइलाका छापहरू भेटिनु भने अत्यन्तै दुर्लभ मानिन्छ। ‘जर्नल अफ भर्टिब्रेट प्यालेन्टोलोजि’ मा प्रकाशित अध्ययन अनुसार, हप्सले सन् २०२५ को जुलाईमा पहिलोपटक यी पाइलाका छापहरू देखेका थिए।

‘टाइम मेसिन’ जस्तै बनेका पाइला

“सुरुमा त मलाई पत्यार नै लागेन। त्यो साँच्चै पाइलाको छाप नै हो भनेर विश्वस्त हुन मलाई केही समय लाग्यो,” डेन्भर म्युजियम अफ नेचर एन्ड साइन्सका स्वयंसेवी शोधकर्ता समेत रहेका हप्सले भने।

अध्ययनकर्ताहरूका अनुसार फेला परेका पाइलाका छापहरू करिब ३ फिट (०.९ मिटर) लामो र २ देखि २.५ फिट (०.६ देखि ०.८ मिटर) चौडा छन्। लम्बाइ चौडाइभन्दा बढी हुनुले यो मांसहारी डाइनोसरको पाइला भएको पुष्टि गर्छ। उक्त क्षेत्रमा बसोबास गर्ने यति ठूलो आकारका जीवहरूमा टी-रेक्स र हाँस जस्तै चुच्चो भएको ‘एडमोन्टोसोरस’ (Edmontosaurus) मात्र थिए। तर, तिनको खुट्टाको बनावट फरक हुने भएकाले यो टी-रेक्सकै पाइला भएको वैज्ञानिकहरूको निष्कर्ष छ।

सुरुमा दुईवटा पाइला मात्र देखिएको भए पनि अनुसन्धान टोलीले थप उत्खनन गर्दा तेस्रो, चौथो र हालै पाँचौँ पाइलाको छाप समेत फेला पारेको छ।

हिँड्ने गति र चालको रहस्य

हड्डीका अवशेषहरूले जीवको संरचनाबारे जानकारी दिए पनि पाइलाका छापहरूले ६ करोड ६५ लाख वर्षअघिको तिनको प्रत्यक्ष चाल र व्यवहार बुझ्न मद्दत पुर्‍याउँछन्।

अध्ययन टोलीका सह-लेखक डा. टायलर लाइसोनका अनुसार, यी पाइलाहरू बीचको दूरी (stride length) करिब १३ फिट (४ मिटर) रहेको छ। यसका आधारमा उक्त टी-रेक्स प्रतिघण्टा ५.६ देखि ७ किलोमिटरको सामान्य गतिमा हिँडिरहेको अनुमान गरिएको छ। यद्यपि, हिलियाे माटोमा टेकेर हिँडेकाले यो उसको अधिकतम दौडिने गति भने होइन।

यसअघि टी-रेक्सका छुट्टाछुट्टै फुट्टा पाइलाका छाप मात्र भेटिएका थिए। तर, एउटै लहरमा लगातारका पाइलाहरू (Trackway) भेटिएको यो पहिलो घटना हो। डेन्भर म्युजियम अफ नेचर एन्ड साइन्सले थप अनुसन्धानका लागि ती पाइलाका छापहरू सङ्कलन गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *