आफ्नो लागि उपयुक्त सिरानी कसरी छान्ने? फिजियोथेरापिस्ट डा. क्रिस म्याकार्थीको सुझाव
काठमाडौं । हामीमध्ये धेरैजसो बिहान उठ्दा घाँटी वा ढाड दुख्ने समस्याबाट पीडित हुने गर्छौँ। यसको एउटा मुख्य कारण हामीले प्रयोग गर्ने गलत सिरानी हुन सक्छ। म्यानचेस्टर स्कुल अफ फिजियोथेरापीका एसोसिएट प्रोफेसर तथा वरिष्ठ फिजियोथेरापिस्ट डा. क्रिस म्याकार्थीका अनुसार सही सिरानीको छनोटले मानिसको निद्रा र मेरुदण्डको स्वास्थ्यमा ठूलो असर पार्छ।
बिबीसीको ‘स्ला ब्रेड’ पोडकास्टमा कुरा गर्दै डा. म्याकार्थीले सही सिरानी छान्दा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्:
१. सुत्ने शैली
-
पेटको भरमा सुत्ने (Front Sleepers): डा. म्याकार्थी पेटको भरमा सुत्ने बानीलाई पूर्ण रूपमा त्याग्न सुझाव दिन्छन्। यसरी सुत्दा घाँटी लामो समयसम्म एकातिर फर्किने हुनाले मांसपेशी र लिगामेन्टमा तनाव उत्पन्न भई दुखाइ सुरु हुन्छ।
-
पिठ्युँको भरमा सुत्ने (Back Sleepers): पिठ्युँको भरमा सुत्नेहरूले आफ्नो मेरुदण्डको माथिल्लो भागको घुमाउरोपन ध्यानमा राख्नुपर्छ। उमेरसँगै ढाड कुप्रो पर्दै जाने भएकाले ढाड अलि घुमेका मानिसलाई अलि बाक्लो सिरानी र समतल ढाड भएकाहरूलाई पातलो सिरानी उपयुक्त हुन्छ।
-
कोल्टो परेर सुत्ने (Side Sleepers): कोल्टो सुत्नेहरूका लागि काँधको चौडाइ महत्त्वपूर्ण हुन्छ। चौडा काँध भएका व्यक्तिलाई बाक्लो सिरानी आवश्यक पर्छ।
२. डस्ना वा म्याट्रेसको नरमपना
सिरानीको उचाइ तपाईँ प्रयोग गर्ने डस्नामा पनि निर्भर गर्छ।
-
यदि डस्ना कडा छ भने, काँध धसिँदैन; त्यसैले बाक्लो सिरानी चाहिन्छ।
-
यदि डस्ना अलि नरम छ भने, काँध डस्नाभित्र धसिने भएकाले पातलो सिरानी नै उपयुक्त हुन्छ।
डा. म्याकार्थीको उपयोगी टिप: यदि तपाईँको सिरानी धेरै समतल वा पातलो छ भने, नयाँ किन्नुअघि सिरानीमुनि एउटा तौलिया दोब्बर्याएर राखी आफूलाई कति उचाइ सहज हुन्छ भनी परीक्षण गर्न सक्नुहुन्छ।
३. सिरानीको बनावट र भर्ने सामग्री
-
प्वाँख : प्वाँख भएका सिरानीले टाउकोको तापक्रम सन्तुलित राखी शीतल प्रदान गर्छन्। तर, राति धेरै चल्ने मानिसहरूका लागि यो खुम्चिएर आकार बिग्रिने जोखिम हुन्छ।
-
फाइबर वा फोम : फोम वा फाइबरका सिरानीले रातभर आफ्नो आकार कायम राख्छन्। डा. म्याकार्थी स्वयं विगत पाँच वर्षदेखि भेन्टिलेसन प्वालहरू भएको फोमको सिरानी प्रयोग गर्दै आएका छन्।
निष्कर्ष
फिजियोथेरापिस्ट म्याकार्थीका अनुसार सबैका लागि उपयुक्त हुने कुनै एउटै ‘सर्वश्रेष्ठ’ सिरानी हुँदैन। प्रत्येक व्यक्तिले आफ्नो शरीरको बनावट, सुत्ने शैली र डस्नाको प्रकारअनुसार सिरानी व्यक्तिगत रूपमा छनोट गर्नुपर्छ। धेरैजसो कम्पनीहरूले दिने ‘ट्रायल पिरियड’ (Trial Period) को फाइदा उठाउँदै आफ्नो लागि सही सिरानी छान्न उहाँको सुझाव छ।
