शैक्षिक सुधारमा कार्यवाहक प्रमुख डंगोलको सक्रिय नेतृत्व : तीन वर्षदेखि रोकिएको शैक्षिक सम्मान कार्यक्रम पुनः सुरु

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको सक्रिय नेतृत्व र शिक्षाप्रतिको प्राथमिकताका कारण महानगरभित्रको सामुदायिक शिक्षामा गुणात्मक सुधारको नतिजा देखिन थालेको छ । वि.सं. २०७९ देखि रोकिएको शैक्षिक सम्मान तथा पुरस्कार कार्यक्रमलाई यस वर्षदेखि पुनः निरन्तरता दिँदै महानगरले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई भव्य समारोहका बीच पुरस्कृत गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले उत्कृष्ट शैक्षिक योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो । डंगोलको नेतृत्वमा महानगरले शिक्षामा लगानी वृद्धि र जनशक्ति व्यवस्थापनमा लिएको नीतिकै कारण सामुदायिक विद्यालयहरूले पछिल्लो समय उत्साहजनक नतिजा ल्याउन सफल भएका छन् ।

 सामुदायिक विद्यालयबाटै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘सामुदायिक शिक्षाको गुणस्तर सुधार गरेर हामी महानगरका विद्यालयहरूबाटै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छौँ ।’ उहाँले शिक्षकहरूको आत्मबल बढाउन र विद्यार्थीहरूको अन्तरनिहित क्षमता उजागर गर्न महानगरले पूर्वाधार र मानव स्रोतमा लगानी केन्द्रित गरेको बताउनुभयो । शिक्षकहरूलाई मर्यादित पेशागत वातावरण प्रदान गर्न महानगर सधैँ प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

उत्कृष्ट विद्यार्थी र विद्यालयलाई नगद पुरस्कार
कार्यवाहक प्रमुखको सक्रियतामा सुरु भएको यस पुरस्कार कार्यक्रम अन्तर्गत २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । जसमा ज्ञानोदय मा.वि. का २१ जना, विश्वनिकेतनका ३, रत्नराज्य र तरुण मा.वि. का २-२ तथा शिवपुरी मा.वि. का १ जना विद्यार्थी रहेका छन् ।

यस्तै, एसईईमा शतप्रतिशत विद्यार्थीलाई ‘ग्रेडेड’ गराउन सफल चार सामुदायिक विद्यालयहरू (बाल सेवा, बाल व्यवसायी केन्द्र, श्रम राष्ट्रिय र केन्द्रीय बहिरा मा.वि.) लाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

विद्यालय र शिक्षकको तहगत सम्मान
एसईईमा औसत स्तरीकृत अङ्कका आधारमा सामुदायिकतर्फ पहिलो दोस्रो र तेस्रो स्थानका लागि ज्ञानोदय मा.वि. (१ लाख रुपैयाँ), तरुण मा.वि. (७५ हजार रुपैयाँ) र विश्वनिकेतन मा.वि. (५० हजार रुपैयाँ) लाई पुरस्कृत गरियो । 

संस्थागत विद्यालयतर्फ विजकिड एकेडेमी, बिजेश्वरी ज्ञान मन्दिर र मेरिडियन इन्टरनेशनल स्कूललाई पनि उनीहरूको उत्कृष्ट नतिजाका लागि सम्मान प्रदान गरियो ।

विषयगत शिक्षकतर्फ एसईईमा उत्कृष्ट नतिजा दिलाउने ९ जना शिक्षकलाई जनही २५ हजार र कक्षा ८ को नतिजाका आधारमा ७ जना शिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरियो । कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने सामुदायिक विद्यालयहरूमा विश्वनिकेतन (प्रथम), पद्मोदय (द्वितीय) र भानु मा.वि. (तृतीय) पुरस्कृत भए ।

अवकाश प्राप्त शिक्षकको सम्मान र नेतृत्वको प्रशंसा
सोही अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा अनिवार्य अवकाश पाएका ५० जना शिक्षकहरूलाई उनीहरूको दीर्घकालीन सेवाको कदर गर्दै विशेष सम्मान गरियो । सम्मानित शिक्षक नारायण नेपालले महानगरको वर्तमान नेतृत्वले शिक्षा क्षेत्रमा स्रोत र अवसर प्रदान गरेकै कारण सुधार सम्भव भएको बताउनुभयो ।

महानगरको शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार, कार्यवाहक प्रमुख डंगोलकै विशेष पहलमा आगामी वर्षदेखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई समेत यो सम्मान र पुरस्कारको दायरामा समेटिने योजना रहेको छ ।