विवाहको रथ अनियन्त्रित भई किचिँदा धनुषामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
धनुषा, १९ असार । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित एक विवाह समारोहमा बेहुला अन्माउन ल्याइएको रथ अनियन्त्रित भई किचिँदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक महिला गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार दुर्घटनामा स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो।
स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गएराति ‘मटकोर’ विधि सञ्चालन भइरहेका बेला प्रदेश २–०३–००१ च ७४६८ नम्बरको विवाहको रथ (सजाइएको गाडी) को ब्रेक अचानक फेल भई विवाह समारोहको भीडभित्र पसेको थियो।
रथको ठक्करबाट स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया गम्भीर घाइते भएको छ। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम भर्ना गरिएको प्रहरीले जनाएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले रथ नियन्त्रणमा लिएको छ भने दुर्घटना गराएर फरार भएका रथका चालकको खोजी तीव्र पारिएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो।