खामेनीको अन्तिम बिदाइमा तेहरानमा जनसागर: अमेरिका र इजरायलविरुद्ध आक्रोश, इरानको सैन्य रणनीतिमा ‘यू-टर्न’

एजेन्सी, २१ असार । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानमा असाधारण जनसागर उर्लिएको छ। ६ दिने अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार लाखौँ इरानी नागरिकहरू आफ्ना नेताको अन्तिम दर्शनका लागि सडकमा ओर्लिएका हुन्।

तेहरानको ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा आयोजित श्रद्धाञ्जली सभामा खामेनी र फेब्रुअरी २८ को आक्रमणमा मारिएका उनका परिवारका सदस्यहरूको पार्थिव शरीर राखिएको थियो। इरानी झन्डामा लपेटिएका ताबुतहरू देख्नासाथ उपस्थित लाखौँ मानिसहरू भक्कानिएर रोएको दृश्यले तेहरान शोक र आक्रोशमा डुबेको सङ्केत गर्दथ्यो।

अन्त्येष्टि समारोह शोकमा मात्र सीमित रहेन, यो पश्चिमा शक्तिहरूविरुद्धको प्रदर्शनमा परिणत भयो। आक्रोशित भीडले लगातार ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाएका थिए। सहभागीहरूले आफ्ना नेताको हत्याको बदला लिन माग गर्दै युद्धका पोस्टरहरू प्रदर्शन गरेका थिए। अधिकारीहरूका अनुसार हप्ताभर चल्ने कार्यक्रममा करिब २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ।

खामेनीको अन्तिम यात्राको तालिका यस प्रकार तय गरिएको छ:
जुलाई ६: तेहरानबाट शवयात्रा सुरु।
जुलाई ७: इरानको पवित्र सहर कोम पुर्‍याइने।
जुलाई ८: छिमेकी मुलुक इराकको नजफ र कर्बला लगिने।
जुलाई ९: इरानको दोस्रो ठूलो सहर मशहदस्थित ‘इमाम रजा दरगाह’ मा राजकीय सम्मानका साथ समाधिस्थ गरिने।
शिया मुस्लिमहरूका लागि मक्का र मदिनापछिको पवित्र स्थल मानिने मशहदमा खामेनीलाई दफनाउनुलाई धार्मिक र राजनीतिक रूपमा अत्यन्तै अर्थपूर्ण मानिएको छ।

खामेनीको मृत्युपछि इरानले अमेरिकासँगको अप्रत्यक्ष शान्ति वार्ता तत्कालका लागि भङ्ग गरेको छ। यति मात्र होइन, इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई आफ्ना मुख्य आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फहानको अनुगमन गर्न समेत रोक लगाएको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘मानवीय आधार’ मा अन्त्येष्टि पूरा गर्न एक हप्ताको समय दिएको दाबी गर्दै त्यसपछि अमेरिकी सर्तहरू मान्न दबाब दिएका छन्।

खामेनीपछि नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले सत्ताको बागडोर सम्हालेका छन्। उनको नेतृत्वमा इरानले आफ्नो सैन्य रणनीतिमा व्यापक फेरबदल गर्दै थप आक्रामक बन्ने सङ्केत दिएको छ।

भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले अब विश्वको प्रमुख तेल आपूर्ति मार्ग ‘होर्मुज स्ट्रेट’ लाई सामरिक दबाबको हतियार बनाउने तयारी गरेको छ। इरानले विश्वलाई स्पष्ट सन्देश दिएको छ— “यदि इरानमा शान्ति रहँदैन भने, बाँकी विश्वका लागि हुने तेलको आपूर्ति पनि सामान्य रहने छैन।”